सुशील कोइराला जसले संविधान बनाए, चुपचाप बिदा भए !

काठमाडौं । माघ २६ गते सुशील कोइरालाको निधन भएको दिन। तत्कालीन नेपाली कांग्रेसका सभापति कोइरालाले २०७२ असोज ३ मा संविधान जारी भएलगत्तै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसको चार महिनापछि उनको नि’धन भएको थियो । संविधान बनाउन भनी भएको पहिलो संविधानसभा त्यत्तिकै विघटन भएपछि दोस्रो संविधानसभाको निर्वाचनबाट कोइराला प्रधानमन्त्री बनेका थिए ।

सबै राजनीतिक दल, संगठन, समूहलाई साथ र अन्तर्राष्ट्रिय निकायलाई विश्वासमा लिएर संविधान जारी गर्नु निकै कठिन कार्य थियो । तर, विभिन्न अड्चन र विरोधका बाबजुद पनि कोइरालाकै अगुवाइमा नेपालमा संविधान जारी भयो । त्यसैले उनलाई संविधानका पिता पनि भन्ने गरिन्छ । आफ्नो जीवनभर निरन्तर राजनीतिमा संलग्न तथा सक्रिय कोइरालाले प्रधानमन्त्रीबाहेक कुनैपनि सार्वजनिक लाभको पद ग्रहण गरेनन् ।

२०७० माघ २७ गते प्रधानमन्त्री बनेका कोइरालाले आफ्नो २० महिने प्रधानमन्त्रीत्वकालमा पनि थोरै तर स्मरणयोग्य कार्य मात्रै गरे । कोइराला नेतृत्वको सरकारले १२ वैशाख २०७२ को भूकम्पछिको पुनःनिर्माणका लागि सहयोग जुटाउन ‘भूकम्प पछिको नेपाल पुनः निर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन’ को आयोजना गरे । कोइराला सरकार प्रतिको विश्वासकै कारण दातृ निकायहरु बाट करिब साढे चार खर्ब सहयोगको प्रतिबद्धता आएको थियो ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न महत्वपूर्ण मानिएका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका साथै पदाधिकारीको नियुक्ति कोइराला सरकारको अर्को उपलब्धि मान्न सकिन्छ। लामो समयदेखि भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण हुन नसकेको अवस्थामा उनकै पालामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुनुको साथै सार्क सम्मेलन पनि उनकै कसरतमा नेपालमा सम्पन्न भई भारत र पाकिस्तान नजिक हुने वातावरण समेत मिलेको थियो ।

माथिल्लो कर्णाली जल विद्युत् आयोजना र अरुण तेस्रो जल विद्युत् आयोजनाको भारतसँग परियोजना विकास सम्झौता (पिडिए) लाई उनी नेतृत्वको सरकारको अर्को महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ । नेपाल र भारतको सीमामा रहेको महाकाली नदीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको सम्बन्धमा २२ बर्षपछि पञ्चेश्वर विकास प्राधिकरण गठन गरी काम अगाडि बढाउने कार्य पनि त्यतिबेला नै भएको थियो । जीवनको अन्तिम क्ष’णमा ‘राजनीतिक हिरो’ बनेर चुपचाप संसारबाट बिदा लिएका कोइरालाको काम गराईलाई आज पनि स्मरण गर्ने गरिन्छ । न् ।

प्रतिक्रिया दिनुहोस्