तनाव कम गर्न थालेको कामलाई ब्रान्ड बनाइन् मनोविज्ञान शिक्षकले

काठमाडौं : अघिल्लो वर्ष काठमाडौंकी अलिशा अधिकारीलाई इलाम जानुपरेको थियो। १२–१३ घन्टा लामो बस यात्रा सदुपयोग गर्दै उनले एउटा मफलर नै बुनेर भ्याइन् । कलेज जानुपर्दा पनि उनको ब्यागमा कुरुस र धागो टुट्दैनन्। बाटोमा जामको दिक्दारी उनी आफ्नो सीपमा पोख्छिन्।

कोही यात्रुहरु ट्वाँ पर्दै उनले बुनेको हेर्छन् । कोही भने सोध्छन् पनि, ‘व्यापार गर्नु हुन्छ हो ?’ कलेजहरूमा मनोविज्ञान विषय पढाउने अलिशा पहिले त सोखका लागि बुन्थिन्। हालै भने सामाजिक सञ्जालमा ‘मिहाग नेपाल’ नामबाट व्यवसाय नै सुरू गरेकी छन्।मिहागमार्फत् उनी हातैले बुनेका ऊनका मफलर, टोपी, विशेषगरी केटाकेटीका लागि स्विटर, पन्जा, मोजा लगायत बिक्री गरिरहेकी छन्।

‘मिहाग’ कोरियन शब्द हो जसको अर्थ ‘सुन्दरता’ रहेको अलिशा बताउँछिन्। २६ वर्षीया अलिशा भन्छिन्, ‘पाँच-छ वर्षकी हुँदा मैले गुडियाका लागि लुगा नै सिलाएकी थिएँ । पछि अन्तै व्यस्त भइयो। तर २०७२ को भूकम्प पछि मामाघरकी हजुरआमाले बुनेको देखेँ। सानो बेलाको रहर फेरि फर्कियो र त्यही साल मैले बुन्न सिकेँ।’

हजुरआमाले साधारण बुनाइ सिकाइदिएकी थिइन्। पछि युट्युबमा पनि हेर्दै सीपको दायरा बढाइन्। बुन्न सिकेकै दिन टोपी बनाएको बताउँदै भन्छिन्, ‘एकदम सजिलो थियो, रमाइलो पनि। सिकेको कुरालाई आफ्नो डिजाइनमा ढालेर, फेसन डिजाइनरले जस्तै नाप लिएर लुगा बनाउँथे। एक-दुई हप्तामा त मैले राम्रै सामान बनाउन थालिसकेकी थिएँ।’ थप सेतोपाटिको यो लिंकमा रहेको भिडीयो रिपोर्ट हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्