निर्वाचन आयोगको निर्णय : नेकपा फुटेको छैन

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेर बदललाई मान्यता नदिने भएको छ । आज बसेको आयोगको बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको छ । “साबिकको निर्णयलाई कायम गर्ने निर्णय भएको छ ।

पछिल्लो चरणमा भएको परिवर्तन हेरफेरलाई आयोगले मानेन । केपी ओलीलाई कारबाही गरेको पनि आयोगले मानेन । माधव नेपाललाई अध्यक्ष बनाएको पनि मानेन्,” प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बाह्रखरीसँग भने । योसँगै पुरानो पार्टी यथावत् रहने पनि उनले बताए । दल दर्ताका बखत् केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई विभाजन हुन आयोगले रोकेको हो ।

“राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को धारा २५ को ५ र ६, नेकपाको अन्तरिम विधान २०७५ र संविधानको धारा धारा २९९ बमोजिम निर्णय भयो” आयोगका एक उच्च अधिकारीले भने । ती उच्च अधि कारीका अनुसार निर्णय बारे ओली र प्रचण्डलाई सोमबार पत्र पठाइने छ । दुवै पक्षले निर्वचान आयोगमा आफूहरू नै मूल पार्टी रहेको र सोही अनुसार पदाधिकारी तथा विधान लगायतका कुरा फेरबदल भएकाले अभिलेख गर्नुपर्ने विवरण आयोगमा पठाएका थिए।

त्यसपछि आयोगले दुवै पक्षलाई राजनीतिक दल सम्बन्धी ऐन, नियमावली र दलको विधान अनुसारको विवरण पठाउन भनेको थियो। सोही आधारमा दुवै पक्षले आयोगमा जवाफ पठाएका थिए। तर दुवै पक्षबाट आयोगमा आएको जवाफमा आयोग सन्तुष्ट नभएपछि दुवैको दावी अस्वीकार गरेको हो। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा राजनीतिक रुपमा विभाजित छ ।

प्रतिक्रिया दिनुहोस्