काठमाडाैँ, २८ माघ । मेलम्चीको पानी असारसम्म काठमाडौं ल्याउने तयारी भएको छ । सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवर्क्स निर्माणको सम्झौता अवधि १५ महिनाको भएकाले हाललाई अस्थायी डाइभर्सन गरी असारमा ल्याउन लागिएको हो ।
मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सिनो हाइड्रोले कामलाई ती’व्र बनाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । कम्पनीले तोकिएको समय भन्दा अगावै सम्पन्न गरी बोनस पाउनेगरी काम गरिरहेको उनको भनाइ छ । प्रवक्ता पन्तले भने, ‘काम द्रुतगतिमा भएको छ, कामको प्रगति राम्रो छ, बोनस खानेगरी कम्पनीले कम गरेको छ, अहिलेसम्म हेर्दा बोनस खाने संकेत देखिएको छ, यसको मतलब तोकिएको समय अगावै काम सकिन्छ ।’
सम्झौता अनुसार ६६ दिनअघि काम सम्पन्न गरे कुल सम्झौताको १० प्रतिशत बोनसको व्यवस्था छ । दैनिक ०.०१५ प्रतिशत हुन आउँछ । समय अगावै काम सके दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता छ। कम्पनीले छिटो काम सके दैनिक १२ लाख ७५ हजार रुपियाँ प्रोत्साहन भत्ता पाउने छ । काममा ढिलाइ भए कम्पनीले दैनिक १२ लाख ५० हजार रुपैयाँ दरले जरिमाना तिर्नुपर्नेछ । यो खबर आजको गाेरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्