ओली समूहको जनसभाका कारण माघ २३ गतेको सवारी लाइसेन्स परीक्षा स्थगन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गर्ने दिन (आगामी माघ २३ गते) सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा नहुने भएको छ । सो दिन विभिन्न स्थानमा विरोधका कार्यक्रम हुने हुँदा त्यहाँ जन शक्ति खटाउनुपर्ने भएकाले लाइसेन्सको लिखित र ट्रायल परीक्षा रोक्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै यातायात कार्यालयलाई चिठी पठाएको हो।

महा शाखाले आउँदाे शुक्रबार विभिन्न राजनीतिक दलहरूबाट उपत्यकाका केही स्थानमा विरोध लगायतका कार्यक्रम तथा भिभिआइपी/ भिआइपी आवागमन हुने र त्यसको व्यवस्थापनको लागि अधिकतम जन शक्ति चाहिने भएकाले परीक्षा स्थगित गर्न अनुरोध गरेको हो ।ट्राफिक व्यवस्थापनकै लागि गत ९ गते प्रतिनिधि पठाउन नसकेको र २३ गते पनि नसक्ने महाशाखाका प्रवक्ता श्याम कृष्ण अधिकारीले जानकारी दिए।

‘सबै ठाउँमा गरेर हामी दैनिक ७० जाना जनशक्ति यातायात कार्यालय पठाउँछौं। २३गते त्यो जनशक्ति अपुग हुने भएकोले नपठाउन लागेका हौं’ उनले भने । लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाको बेलामा ट्राफिक प्रहरी अनिवार्य बस्नुपर्ने प्रावधान छ। प्रधान मन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ।

उक्त जन सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी हुनेछन् । महा शाखाले परीक्षामा प्रहरी खटाउन नसकिने भएकाले स्थगित गरेको महाशाखाले जनाएको छ । लाइसेन्स वितरण गर्ने जागती, चाबहिल, एकान्तकुना र ठूलो भर्‍याङ कार्यालयले लिने परीक्षा रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्