प्रधानमन्त्री रोजगार का’र्यक्रम सुरू

खाँदबारी, फागुन १६ गते । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ । स्थानीयस्तरमै रोजगार सिर्जना गर्नेगरी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएकोे हो। यस कार्य क्रम अन्तर्गत नगरका ११ वटै वडाबाट २७६ जना लाभग्राही छनोट भएर रोजगार पाएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

यस कार्यक्रम अन्तर्गत रहेर लाभग्राहीको सूचीमा परेका नगरभित्र २७६ जनाले दैनिक ५१७ रुपियाँ पारिश्रमिक पाउने गरी न्यूनतम ५० दिन रोजगारी पाउने प्रमुख खतिवडाको भनाइ छ । नगर भित्र बेरोजगारीको सङ्ख्या बढ्दो रहेकाले विदेशिनु परेको भन्दै गुजारा गर्न सहजताका लागि केही अवसर प्राप्त होस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

लाभग्राहीलाई काम गर्नका लागि आवश्यक सामग्री औजारलगायतका सामानहरू खाँदबारी नगरपालिकाले नै उपलब्ध गराउने जनाएको छ । यस कार्यक्रमका लागि सबै वडाबाट छनोट भएकाहरूको जीवन बीमा समेत खाँदबारी नगरपालिकाले गरिदिने व्यवस्था गरेको जनाएको छ र उनीहरूको पारिश्रमिक बराबरको भुक्तानी बैङ्कमार्फत गरिनेछ ।

त्यसैगरी मूल्याङ्कनका आधारमा उत्कृष्ट काम गर्नेलाई पुरस्कार समेत प्रदान गरिने जनाइएको छ । लाभग्राहीले आआफ्नो वडाभित्र रहेका कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, पूर्वाधार लगायतको कार्यमा समावेश भएर काम गर्नुपर्ने जनाएको छ । देशैभर रोजगार सिर्जना गर्र्नेगरी आएको यो कार्यक्रम खाँदबारी नगरपालिकामा पनि शनिबारबाट सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्