काठमाडौं : शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र विप्लव समूह बीचको हस्ताक्षर समारोह सकिएको चौबिस घण्टा नसकिँदै विप्लव समूहका नेता तथा कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश गरेका छन् । विमल अधिकारीको नेतृत्वमा शनिबार २ सय ५० जना भन्दा बढी नेकपा प्रवेश गरेका हुन् ।
लमजुङका अधिकारीले केही समयअघि विप्लवबाट छुट्टिएर क्रान्तिकारी पार्टी गठन गरेका थिए । उनको पार्टीले क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी प्राध्यापक संघ,क्रान्तिकारी विद्यार्थी संघ,क्रान्तिकारी महिला संघ लगायत धेरैवटा जनवर्गीय संगठन बनाएको थियो । ती सबै जनवर्गीय संगठनमा गरी झण्डै २५ सय जति प्रतिबद्ध कार्यकर्ता रहेको उनको दाबी छ ।
आज तीमध्ये २ सय ५० जनालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो। स्रोतका अनुसार पार्टी प्रवेश गराउने प्रयोजनको लागि लकडाउन अघिदेखि नै द्विपक्षबीच कुराकानी भइरहेको थियो।
तर विविध कारणले रोकिएको उक्त अभियानलाई प्रतिगमन वि’रुद्धको आन्दोलनमासँगै लैजाने भन्दै आजको कार्यक्रम आयोजना गरिएको बताइन्छ ।अधिकारीको क्रान्तिकारी पार्टीमा आवद्ध अधिकांश कार्यकर्ता पहिले माओवादीमा सक्रिय थिए। आज नेकपा (बहुमत) प्रवेश गरेकामा ७७ जिल्लाका २ सय ५० जना छन् ।
प्रतिक्रिया दिनुहोस्