एमाले मै रहेर ओली वि’रूद्ध लड्ने माधव-झलनाथ समूहको निष्कर्ष

काठमाडौं : सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधव-झलनाथ पक्ष एमालेमै फर्किने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसद् वि’घटन गरेपछि माधवकुमार नेपाल-झलनाथ खनाल समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’समूहमा लागेर सडक आन्दोलनमा पुगेका थिए।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ । यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् रूपमा जगाएको छ। नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदर पश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ।

अदालतले पुरानैपार्टी ब्यूँताएपछि नेपाल समूह एमालेमा फर्कने निष्कर्षमा पुगेको हो। माधव-प्रचण्ड समूहका केन्द्रिय सदस्य एवम् तत्कालीन एमाले नेता विष्णु रिजालले एमाले केपी ओली, माधव नेपाल दुवैको भएकाले पार्टी ब्यूँतिएपछि हामी सबै एमाले भएको बता एका छन्। ट्वीटमा उनले भनेका छन्,‘सर्वोच्चको फैसलापछि उहाँ एमालेमा जाने वा नजाने भन्ने प्रश्नै रहँदैन। एमाले केपी ओलीको पनि हो, माधव नेपालको पनि हो। पार्टी ब्यूँतिएपछि हामी सबै एमाले नै रह्यौँ।’

अहिले प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक पेरिस डाँडामा बसेको थियो । सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड-माधव पक्षले अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेका छन् । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले बताए ।

यो निर्णयसहित आजको प्रचण्ड माधव पक्षको बैठक बिदाइ बैठकमा परिणत भएको छ । बैठक अगाडि तत्कालीन एमालेको माधव पक्षको मात्र बैठक बसेको थियो । उनीहरु एमाले मै रहेर ओली वि’रुद्ध संघर्ष गर्दै पुन: पार्टी एकताको लागि पहल गर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस्