सल्यानबाट बे’पत्ता भएका उत्सव १२ दिनदेखि सम्पर्क विहीन

सल्यान, ३ फागुन । नवजात छोराको छैंठी गरेको दिनदेखि नै सल्यानका एक युवा बे’पत्ता भएका छन् । विगत १२ दिन देखि सम्पर्क विहीन बनेका सल्यान शारदा नगरपालिका वडा नम्बर ३ निवासी उत्सव श्रेष्ठको खोजीकार्य तीब्र पारिएको सल्यान प्रहरीले जनाएको छ ।

खलंगामा आइएमई सञ्चालन गर्दै आएका श्रेष्ठको खोजतलासीमा सहयोग गरिदिन उनकी श्रीमति संगीता श्रेष्ठसहित घर परिवारका सदस्यले सबैमा आग्रह समेत गरेका छन् । श्रेष्ठकी पत्नी संगीता श्रेष्ठका अनुसार माघ २१ गते बिहान छोराको छैठी गरेको र खाना खाएर करीब १० बजेतिर उत्सव सधैंजस्तै आइएमइ खोल्न गएका थिए । केही समय पछि सेवाग्राही रुपमा आएका दुई जनासँग भनाभन समेत भएको थियो ।

सेवाग्राहीहरुसँग भनाभन भएको आफूले सुनेको तर त्यसपछि उहाँ कहाँ जानुभयो आफूलाई थाहा नभएको पत्नी संगीताको भनाइ छ । । वेपत्ता भएलगत्तै प्रहरीमा समेत खोज तलासीका लागि संगीताले निवेदन समेत दिएकी छिन्। यता जिल्ला प्रहरी कार्यालय सल्यान ले घरबाट सम्पर्क विहीन भएका श्रेष्ठको खोज तलासी तीब्र पारिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले श्रेष्ठको खोज तलासीका लागि मातहतका प्रहरी युनिटलाई नाम र हुलिया सहित खबर गरिसकेको र खोज तलाश जारी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्