नेपालीलाई लिन वुहान उड्यो जहाज

काठमाडौँ:चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन नेपाली जहाज शनिबार दिउँसो चीनतर्फ प्रस्थान गरेको छ। दिउँसो २ः ४५ बजे नै प्रस्थान गर्ने भनिए पनि झण्डै सवा घण्टा ढिलो गरी उक्त विमान त्रिभुवन विमानस्थलबाट वुहानका लागि उडेको हो। चीनमा रहेका १ सय ८५ जना नेपाली विद्यार्थीहरुलाई उक्त विमान मार्फत शनिबार राति नै स्वदेश ल्याउने सरकारको तयारी छ।

शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो। कोरोना भाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। जहाज मा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एक/एक जना इन्जिनियर र लोडमास्टर छन्।

चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरिसकेको छ। चीनबाट फर्केको विमान विमानस्थलमा अवतरण गरेपछि सिधै हेलिकोप्टर पार्किङ वेको रिमोट पार्किङस्थलमा लगिनेछ र उ’द्धार गरेर ल्याइएका विद्यार्थीहरुलाई कसैसँग भेट्न नदिई भक्तपुरको खरिपाटी स्थित क्वारेण्टाइनमा पुर्‍याइनेछ। १४ दिनसम्म क्वारेन्टाइनमा राखिने उनीहरुको दैनिक स्वास्थ्य परीक्षण गरिने छ।

प्रतिक्रिया दिनुहोस्