घर फर्किएका नेपाली भन्छन्- ‘फर्कनै पाइँदैन जस्तो लागेको थियो, अहिले हर्षित छौं’

काठमाडौं : कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान लगायतका शहरमा रहेका १ सय ७५ जना नेपालीको उद्धार गरी काठमाडौं ल्याइएको छ। वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको विहान आज बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

वुहानमा रहेका १७५ जना नेपालीलाई काठमाडौं ल्याइएको, ६ जनाको स्वास्थ्यमा समस्य देखिएपछि नेपाल नल्याइएको र अन्य चार जना आफ्नो इच्छाले नेपाल नआएको चीन स्थित नेपाली दूतावास जानकारी दिएको छ। नेपाल ल्याइएका विद्यार्थीलाई विमानस्थलबाट सोझै खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा वनाईएको क्वारेन्टाइनमा लगिएको छ ।

उनीहरुलाई १५ दिनसम्म विशेष निगरानीमा राखिनेछ। जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका–६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ। नेपाल आउन आवेदन दिएका १८५ जनामध्ये बाँकी १७५जना नेपाली विद्यार्थी स्थानीय समय अनुसार शनिबार राति १२ बजेर ५२ मिनेटमा वुहानबाट काठमाडौंका लागि उडेका थिए । बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपाली

विद्यार्थीलाई हुपेई प्रान्तका ६ वटा शहरबाट ६ वटा बसमा राखेर शनिबार वुहान स्थित विमानस्थल ल्याइएको थियो । नेपाल फर्काइएका १७५ जना नेपालीमध्ये १७० जना विद्यार्थी रहेका छन् भने १ जना कामदार, २ जना पर्यटक र २ जना बालबालिका रहेका दूता वासले जनाएको छ । घर फर्कन पाएका विद्यार्थीका अभिभावकले राहतको सास फेरेका छन्।

उनीहरूले आफ्ना सन्तानलाई स्वदेश फर्काउनका लागि सरकारलाई दबाब दिन संघर्ष समिति नै बनाएका थिए। ‘क्वारेन्टाइनमा राख्ने भनिएको खरिपाटीमा के–कस्तो व्यवस्था छ हामीलाई थाहा छैन। देशमै फर्किएपछि जेसुकै होस्। १५–२० दिनको कुरा न हो’ संघर्ष समितिका संयोजक वसन्त भण्डारीले भने, ‘अर्काको देशमा डरलाग्दो रोगको महामारी भएका बेला छोराछोरीको चिन्ताले मन पोलेको थियो। अब शान्त भयो।’

अर्का अभिभावक दिनेश श्रेष्ठले क्वारेन्टाइनमा जति दिन राखे पनि आफ्नो कुनै गुनासो नरहने बताए। ‘क्वारेन्टाइनमा १४ दिन मात्र होइन, २१ दिनसम्म पनि राख्नुपर्ने हुन सक्छ भनेर हामीलाई जानकारी दिइएको छ। त्यसमा हाम्रो भन्नु केही छैन’ उनले भने, ‘महा मारीका बेला आफ्नो देश फर्कन पाउनु ठूलो कुरा हो।’

प्रतिक्रिया दिनुहोस्