मालिकले ज्याला बापत जग्गा दिनुभयो, अहिले उहाँको नातीले खोस्दैछ’

सिरहा । मधेशमा पहिला पहिला जग्गा मालिक हरुले जग्गा बेचेपनि किनेको मान्छेको नाममा भने तत्कालै नामसारी नगरिदिने चलन थियो । गाउँघरका जमिन्दारहरुले आज भोलि गरेर टारिदिने परिपाटी थियो । अलिक बढी जथा भएका धनी व्यक्तिहरुसँग त्यत्ति कर पनि गरिदैन्थ्यो । त्यस समयमा सबैले जग्गा नामसारीसँग खासै मतलब पनि राख्ने गर्दैन्थे ।

जमिन्दारहरुलाई जग्गा बापतको रकम दिन्थे, अनि नामसारी भोलिपर्सी हुन्छ नै भनेर बस्न थाल्थे । ठूलठूला जमिन्दारहरुले त आफ्नो घर तथा खेत खलिहानको काम गराएर ज्याला बापत जग्गा लिन चाहनेलाई जग्गा नै मिलाइदिन्थे । तर, नामसारीको निश्चितता भने हुँदैन्थ्यो । यस्तै भएको छ हालको मिर्चैया नगरपालिका १२ मा पर्ने सक्रौनमा । स्थानीय जहुरी मियाँ सोही गाउँका जमिन्दार भाइलाल गोहिबारमा लामो समय काम गरे ।

काम गर्ने भएदेखि थला पर्ने बेलासम्म उनमै काम गरेर जहुरीले जीवन गुजारिदिए । काम गरि रहँदा भूमिहिन जहुरीलाई बस्न गोहिबारले ११ धुर क्षेत्रफलको एउटा जग्गा दिए । त्यसपछि करिब ९०÷९५ वर्षअघि ज्याला बापत गोहिबारले जहुरीलाई सो जग्गा नै मिलाइ दिए । तत्कालिन समयका त्यस क्षेत्रका जमिन्दार मध्येका एक हुन् सिक्रौनका भाइलाल गोहिबार । भोलिपर्सी नाममा पास गरिदिन्छु भन्दाभन्दै गोहिबारको मृत्यु भयो ।

पछि जहुरी पनि बिते । परिवार पाल्न जहुरीका तीनजना छोराहरु कितबल मियाँ, सदल्ली मियाँ र सम्तोली मियाँ पनि गोहिबारमै काम गर्दै आए । भाइलाल गोहिबारको निधनपछि उनका छोरा सहदेव गोहिबारलाई जहुरीका छोरीहरु नामसारी गरिदिन बारम्बार भनि रहँदा पनि आलटाल गर्दै टारिरहे । उनको पनि मृत्यु भयो । नामसारी गरिदिन्छ भन्ने आशामा लामो समयदेखि बस्दै आएका मियाँ परिवारमा यतिबेला भने त्रास उत्पन्न भइदिएको छ ।

सदल्ली भन्छन्, ‘मालिकले बुवाले गरेको मजदुरीको ज्याला दिनुभएन, जग्गानै मिलाइ दिनुुभो। आजभोली गर्दागर्दै उहाँ बित्नुभो, तर जग्गा नामसारी भएन। अहिले उहाँको नातीले जग्गा खाली गर भन्दैछ ।’ आर्थिक रुपले विपिन्न मियाँ परिवार ज्याल रकममा खरिद गरेको सो जग्गामा ३ पुस्तादेखि बसोबास गर्दै आएका छन् । साबिक सिक्रौन ४ मा पर्ने किता नम्बर १०२ को उक्त जग्गा हाल भाइलाल गोहिबारका नाती पदम गोहिबारकी श्रीमति विनादेवि गोहिबारको नाममा छ ।

स्थानीय भद्रभलाद्मीहरुले जग्गा विषयमा पञ्चायती बस्न पदम गोहिबारलाई पटकपटक आग्रह गरेपनि उनले बेवास्ता गर्दै आएका छन् । ‘मियाँ परिवार त्यो जग्गामा पुस्तौं देखि बस्दै आएका छन्, त्यो जग्गा ज्याला बापत मिलाइएको कुरा पनि सबैलाई थाहा छ । यस बारेमा कुराकानी गर्न बस्नको लागि पदमलाई धेरै आग्रह गर्यौं, तर वास्तै गरेको छैन’, स्थानीय रामचन्द्र कापरले भने ।

प्रतिक्रिया दिनुहोस्