सुदूरपश्चिममा तेस्राे पटक हिमपात, जनजीवन कष्टकर

डोटी : गएकाे मङ्गलबार देखि मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमकाे पहाडी तथा हिमाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ। डोटीकोे खप्तडमा पर्ने झिगराना गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएकाे हाे ।

हिमपातका कारण चिसो बढेपछि गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै सिमाना जोडिएको पूर्वीचौकी गाउँपालिकाका जोगीसिंह विष्टले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हिमपातका कारण गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाे छ, गाईवस्तु गोठबाहिर निकाल्न समेत समस्या भएको छ ।’ हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले तेस्राे पटक हिउँ परेपछि भने स्थानीय किसान बाली सप्रिने आशमा खुशी भएका छन् ।

डाेटीका उच्च लेकाली भेगमा अहिलेपनि हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका क्षेत्रमा मसिनाे पानी परिरहेकाे छ। हिमपातका कारण घरबाहिर निस्किन नसकेपछि घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनु भयो । चिसाेले वृद्धवृद्धा तथा बाल बालिका बढी प्रभावित भएका छन् ।

पानी र हिम पातका कारण तापक्रम निकै घटेको छ । चिसोका कारण विभिन्न राेग र समस्या निम्तिने भएकाले यसबाट बच्न शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले स्थानीयलाई सुझाव दिनुभएको छ। निरन्तर हिमपात हुँदा जनजीवन कस्टकर बनेको छ । भारी हिमपात तथा चिसोका कारण सडक खुल्न समस्या भएकाे स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्