अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको अनुरोध

मेलवन (अष्ट्रेलिया) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन्। गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र भिक्टोरिया स्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे।

मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गरेका छन‍्। अष्ट्रेलियामा भएको आ’गलागीबाट नेपाल सरकार मर्मा’हत भएको बताउँदै उनले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह गरे। अष्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीस ल्यूले यहाँको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यस वर्ष आफूपनि नेपाल जान इच्छुक रहेको बताए।

कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने धारणा राखे। गैर आवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गरे।

गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताउनु भयो। उनले आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिए। गतवर्ष अष्ट्रेलियाबाट ३३ हजार पर्यटक नेपाल आएको तथ्याङ्क छ। अष्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्