कालापानी जाने भनिए पनि १७ किलोमिटर वरबाटै फर्किए रक्षामन्त्री पोखरेल

दार्चुला : भारतद्वारा मिचिएको नेपालको कालापानी क्षेत्रको निरीक्षणका लागि निस्किएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली करिब १७ किलो मिटर वरबाटै फर्किएको छ । आइतबार दार्चुलाको खलंगा पुगका मन्त्री पोखरेल सोम बार नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रको निरीक्षणका लागि भनेर निस्किएका थिए ।

तर, मन्त्री पोखरेल नेतृत्वको टोली छाङ्गरुकै आकाशबाटै फर्किएको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना तथा सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्य गेल्बुसिंह बोहोरा तथा मानबहादुर धामी सहित १० जनाको टोली प्रतिकूल मौसमको कारण देखाउँदै छाङ्गरुबाट फर्किएको हो ।

नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पिया धुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आ’पत्ति जनाउँदै आएको छ । रक्षामन्त्री सहितको टोलीलाई बोकेको हेलिकप्टर छाङ्गरूमा समेत अवतरण गर्न सकेन । ‘बाक्लो हिउँका कारण हेलिकप्टर अवतरण गर्न नसकेपछि हवाई निरीक्षण गरेर फर्कियौं’ प्रदेश सभाका सांसद गेल्बुसिंह बोहराले भने, ‘हामी छाङ्गरू गाउँमा अवतरण गर्न खोजेका थियौं, सम्भव भएन ।’

करीब १० मिनेट त्यस क्षेत्रको हवाई निरीक्षण गरेको उनले जानकारी दिए । हवाई निरीक्षण गरेर फर्केका उपप्रम पोखरेलले कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको (बीओपी) राख्ने कामलाई तीव्रता दिने बताएको सा‌ंसद बोहराको भनाइ छ। शनिवार प्रतिनिधि सभा बैठक लाई सम्बोधन गर्दै प्रधामनन्त्री केपी शर्मा ओलीले नक्सा छाप्ने काम मात्र नभई नेपाली भूमि नै फिर्ता ल्याउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्