राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबारे १४ सय पृष्ठको पुस्तक सार्वजनिक

काठमाडौं : पृथ्वीनारायण शाहसम्बन्धीको कृति ‘अनेकौंका दृष्टिमा राष्ट्रनिर्माता’ विमोचन गरिएको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाले हरि सोडारीले सम्पादन गरेको १४ सय पृष्ठको उक्त कृति बिहीबार राजधानीमा विमोचन गरेका हुन्। थापाले शाहको जीवन, दर्शन र अतुलनीय योगदानको विश्लेषण गरी भिन्न लेखकका लेख समेटी प्रकाशन गरिएकाले कृति महत्वको भएको बताए।

उनले भने ‘शाहको दूरदृष्टि, दृढता र दसकौंको अथक प्रयासले मात्र नेपालको एकीकरण सम्भव भएकाले असिम प्रेरणाका स्रोतलाई कृतिमा समेट्नु राम्रो काम हो।’ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले नेपाल कसरी एकीकरण भयो त्यसको विश्लेषण गर्नु प्रत्येक नेपालीको कर्तव्य भएको बताए। प्रधान सम्पादक एवं प्रकाशक हरि सोडारीले चार सय ४३ लेखकले शाहबारे लेखेका लेखलाई संग्रहका रुपमा प्रकाशनमा ल्याएको बताए।

उनले भने, ‘सानैदेखि पृथ्वीनारायणबारे केही गर्नुपर्छ भन्ने लागेको थियो, दिव्योपदेश पढेपछि र स्वामी डा. प्रपन्नाचार्यसँगको डेढ दसकको संगतले यो कृति तयार पार्ने प्रेरणा पाएको हुँ।’ राष्ट्र निर्माता शाहको २९८औं जन्मजयन्ती र राष्ट्रिय एकता दिवसका अवसरमा उक्त कृति विमोचन गरिएको हो। कृति तयार पार्न तीन वर्ष लागेको उनको भनाइ छ। चौध सय पृष्ठको कृतिको मूल्य पाँच हजार रुपैयाँ छ।

कृतिमा पूर्खा र इतिहास, परिचय, व्यक्तित्व र जीवनी, शिक्षा र गोत्र, व्यक्ति गत सम्बन्ध, दैवीशक्ति, ज्योतिष र आयुर्वेद, युद्ध र सन्धि, बहुपक्ष, धर्म, कूटनीति, परराष्ट्र र युद्धनीति, न्याय, अर्थ र विकासनीति, सुशासन र शासन प्रणाली, दिव्यो पदेश, पृथ्वी नारायणको योगदान, आरोपहरु, विभिन्नसँग तुलना, संगीत र साहित्य, वर्तमान सान्दर्भिकता, पृथ्वीजयन्ती र गोरखा र कोट खण्डमा लेख विभाजित छन् । अंग्रेजीमा लेख र उनी बारेका कविता पनि छन् भने शाहले रचेका कविता र उनीसँग सम्बन्धित तस्बिर पनि छन्। कृतिमा विभिन्न राजाका कानुन र विभिन्न राज्य र राजाबारे पनि उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्