दुई काल पार गरेर जतकालको पीडा !

गोकर्ण दयाल, बैतडी । बैतडीको तल्लो स्वराड क्षेत्रका महिलामा अझै पनि दुईवटा कालको पीडा कायमै रहेको छ । ती दुई पीडामा एउटा जतकाल (सुत्केरी) र अर्को महाकालीको जोखिमपूर्ण ट्युब पार गरेर सु’त्केरी हुनुपर्ने काल कायमै छ । गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्षदेखि चिकित्सकीय सेवा उपलब्ध छैन । रक्तस्राव रोक्ने औषधि र जिल्लामा दक्ष स्वास्थ्यकर्मी नहुँदा शिवनाथ गाउँपालिका–१ की २१ वर्षीया सु’त्केरी गोमती चाँडको २०७६ भदौमा मृ’त्यु भएको थियो ।

सुत्केरी मात्रै होइन, पञ्चेश्वर गाउँपालिका–३ कुलाउका ३५ वर्षीय देवदत्त भट्ट विषाक्त खानाले बिरामी हुँदा उपचारका लागि बैतडीबाट डडेलधुरा लैजाँदै गर्दा गत माघ २५ गते बाटोमै मृ’त्यु भयो। बैतडी अस्पतालमा दरबन्दी भए पनि डाक्टर छैनन्, पद रिक्त छ । तीनवटा स्थानीय तह रहेको स्वराड क्षेत्रका करिब एक लाखको जनसङ्ख्यालाई गाउँमै स्वास्थ्य सेवा दिन स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्षदेखि डाक्टर नहुँदा आफैँ बिरामी जस्तो छ ।

डाक्टर न जिल्लामा छन् न त गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा। उपचार गर्न स्वराडवासी सामु एउटै विकल्प भारतीय सीमा क्षेत्रका अस्पताल मात्र हो । तर भारत जान पनि नदीमा पुल छैन । ज्यान बचाउन ज्यान नै दाउमा राखी महाकाली नदीमा जोखिम मोलेर ट्युबमा तर्दै भारत जानुपर्ने बाध्यता छ । उपचार गर्न भारत जाँदै गरेको अवस्था शिवनाथ गाउँपालिका–२ की मनहरी साउदले दुई वर्षको नानी काखी च्यापेर महाकालीको पानीमा ट्युबमा हेलिनुभयो ।

गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर छैनन्, त्यसैले भारत जान लागेको मनहरीले बाध्यात्मक पीडा सुनाउनु भयो । “आपतकालीन अवस्थामा ग’र्भवती महिला पनि यसरी नै ट्युब तर्नुपर्छ। भारतीय अस्पताल नपुगुन्जेल जतकाल (सुत्केरी) हुन नसकेर मरिन्छ कि महाकाली तर्दा ट्युब पल्टेर मरिन्छ भन्ने कुरा अस्पताल नपुन्जेल ठेगान हुँदैन,” साउदले भन्नुभयो । फर्किंदा पनि त्यही ट्युब नै सहारा भएकाले घर नपुगुन्जेलसम्म मर्ने बाँच्ने ठेगान नहुने त्रास उहाँले व्यक्त गर्नुभयो ।

बैतडीको तल्लो स्वराड क्षेत्रका स्थानीय वासीलाई स्वास्थ्य सेवा दिन खोलिएको मेलैली नगरपालिका स्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा २० वर्षमध्ये बितेका १८ वर्ष डाक्टरको अनुहार नै देखिएन । दुई वर्ष अघि आएका डाक्टर पनि सरुवा भएर गएपछि स्वराड वासीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनु भयो ।

स्वराडमा सडक पुगे पनि स्वास्थ्य संस्थामा डाक्टर नपुग्दा स्थानीय वासीले निकै सास्ती भोग्नुपरेको अध्यक्ष चन्दले बताउनु भयो । “स्वास्थ्य संस्थामा बजेटको कमी छैन, सडक पुगेको छ । प्रदेश सरकारले एम्बुलेन्स पनि दिएको छ तर डाक्टरको दरबन्दी भएर पनि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर छैनन्,” चन्दले भन्नुभयो। पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिका गरी तीनवटा स्थानीय तहलाई पायक पर्ने ठाउँमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार डाक्टर बस्ने गरेका छैनन् । स्वराडमा डाक्टर अनुहार देखाउन मात्रै आउने गरेको स्थानीयवासीले पीडा सुनाउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएपछि स्थानीयवासी उपचार गर्न भारत जाने गरेको मेलौली नगरपालिका–७ का केशवसिंह भाटले बताउनु भयो । उहाँले भन्नु भयो, “२० वर्षदेखि डाक्टरको नाम मात्रै सुन्यौंँ, तर डाक्टर आएनन् । एक वर्ष अघि आएका डाक्टर पनि सरुवा भएर जानुभयो । दुई जना स्टाफ नर्सको दरबन्दी भए पनि स्टाफ नर्ससमेत सरुवा भएर गएका छन् ।”

डाक्टर र स्टाफ नर्स नभएपछि अहेवको भरमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको अहेव मुकेशकान्त दयालले बताउनु भयो । २०१६ सालमा केशरपुर हेल्थ सेन्टरका नामले स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र नामकरण भई २०५६ सालदेखि एक जना डाक्टर र दुई जना स्टाफ नर्सको दरबन्दी कायम भएको थियो तर १८ वर्षसम्म यहाँ डाक्टर देखिएका छैनन् ।

सङ्घीयता पछि जिल्लामा रहेका डाक्टरले समायोजनमा सङ्घ रोज्दा अस्पताल र स्वास्थ्य संस्थामा डाक्टर अभाव भएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “डाक्टरको दरबन्दी पूर्ति गर्न सङ्घीय सरकारले लोक सेवा खोलेको छैन । प्रदेशमा लोकसेवा आयोग गठन हुन सकेको छैन । मलाई डाक्टर भर्ना गर्ने अधिकार छैन । यसले गर्दा अन्योल सिर्जना भएको छ ।”

प्रतिक्रिया दिनुहोस्