नेपाली सेनाका कारण त्रिभुवन विमानस्थलकाे उडान-अवतरण ठप्प, यात्रु आक्रोशित !

काठमाडाैं । नेपाली सेनाका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ। सेनाले शिवरात्री र सेना दिवसका दिन गर्ने कार्यक्रमको रिहर्सल गर्दा मंगलबार दिउँसो उडान र अवतरण प्रभावित भएको हाे । दिउँसो पौने २ देखि पौने ५ बजेसम्म सेनाले काठमाडौंको आकाशमा हेलिकप्टर र जहाज उडाएर रिहर्सल गर्दैछ।

रिहर्सलमा पुष्पवृष्टि देखि प्याराजम्पसम्म गरिँदैछ। यसपालि फागुन ९गते शिवरात्री परेको छ। सोही दिन सेनाले आफ्नो स्थापना दिवस मनाउँछ। ‘हामीले हिजै पौने २बजेदेखि दुई घन्टाका लागि नोटाम जारी गरेका थियौं तर विदेशतिरको सेड्युलका कारण जहाजहरू आए। त्यसैको असर परेको हो,’ विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले भने। सैनिक स्रोतका अनुसार सेनाको रिहर्सल ४:४५ बजेमात्र सकिएकाे छ।

सेनाको जहाज अर्कैतिर जाँदा अवतरण र उडान गरिएको उनले बताए। जहाज नियमित उडान-अवतरण नहुँदा कैयौं जहाजले सिमराको आकाशमा चक्कर लगाएका छन् भने आन्तरिकतर्फका जहाज डिले भएका छन्। आन्तरिकतर्फका जहाज डिले भएपछि कतिपय ठाउमा यात्रुहरु आक्रोशित बनेका छन । केहि यात्रुहरुले त सामाजिक सञ्जालमै ‘जनतालाई दुख दिएको’ भन्दै स्टाटस समेत लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्