एमसीसी संसदबाटै पास हुने, कार्यदलको काम अध्ययन मात्र : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, ७ फागुन। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी संसदबाटै पास हुने दोहो-याउनु भएको छ। तीन दिने बंगलादेश भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कनु भएका मन्त्री ज्ञवालीले संसदबाट पारित गर्ने उद्देश्यले विधेयक पेश गरेको बताउँदै एमसीसी पास हुने दावी गर्नुभएको हो । उहाँले नेकपाको केन्द्रीय कमिटिले एमसीसी अध्ययन गर्न गठित कार्यदलको काम अध्ययन गर्ने मात्र भएको पनि प्रष्ट पार्नुभयो ।

कार्यदलको काम अध्ययन गर्न मात्र भएको बताउनुहुने मन्त्री ज्ञवाली तेश्रो व्यक्ति हुनुहुन्छ । यसअघि, एमसीसी अध्ययन गर्न गठित कार्यदलको काम र कर्तव्यलाई लिएर नेकपा अध्यक्षद्वयले टिप्पणी गर्नुभएको थियो । सोही टिप्पणीलाई लिएर कार्यदलका सदस्य भीम रावलले जथाभावी अभिव्यक्ति नदिन पार्टी नेतृत्व र सरकारका मन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

यस्तै, फरक प्रसंगमा मन्त्री ज्ञवालीले सगरमाथा संवादको पहिलो बैठक नेपालमा हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । चीनमा फैलिएको कोरोना भाइरसका कारण बैठक प्रभावित हुने आशंका भइरहँदा उहाँले बैठक हुने दावी गर्नु भयो । सरकारले चैत २० देखि २२ गते काठमाडौंमा जलवायु परिवर्तनका सन्दर्भमा सगरमाथा संवादको आयोजना गर्दैछ । बैठकमा विभिन्न मुलुकका प्रमुख नेपाल आउने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्