गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि विद्यार्थीहरुले यसरी गरे आर्थिक सहयोग

काठमाडौं, ७ फागुन । चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्नकाे लागि विद्यार्थी हरुले आर्थिक सहयोग गरेका छन् । उनीहरुले एउटा समिति नै निर्माण गरेर आर्थिक सहयोग संकलन गरी क्रिकेट रंग शालालाई सहयोग गरेका हुन् । बुधबार शंखमूल स्थित अवरनेस इन्टरनेसनल एकेडेमी (एआईए)मा धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग कार्यक्रम सम्पन्न भएको छ।

एआईए स्कुलका कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुले राजधानीकै एक क्याम्पसमा आयोजना गरेको “स्लाइड सो प्रतियोगितामा प्रथम भई नगद बीस हजार पुरस्कार स्वरुप प्राप्त गरेका थिए । पुरस्कार स्वरुप प्राप्त भएको उक्त रकमबाट दुई हजार रुपैयाँ छुट्टाएर उनीहरुले विद्यालयका प्रधानाध्यापकलाई धुर्मुस–सुन्तली फाउण्डेसनलाई पु¥याइदिन आग्रह गरेका छन् । उक्त दुई हजार समाउँदै विद्यार्थी अभिषेक गौतमले भने, “कम्तिमा यो रकमलाई पचास हजार पु¥याएर विद्यालयले धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग रकम हस्तान्तरण गर्नेछ”।

विद्यालयका भाइस प्रिन्सिपल खगेश्वर गिरीका अनुसार विद्यालयले विद्यार्थीलाई हौसला अभिवृद्धि गर्ने मनसायले विद्यालयमा ‘मेला’ सञ्चालन गरी विद्यार्थीलाईनै अनेक परिकार बनाउन सिकाएर विक्री गरी बचेको सम्पूर्ण रकम फाउण्डेसनका निम्ति छुट्टाइएको छ। अभि भावकलाई मनोसञ्जनात्मक खेल खेलाएको स्मरण गर्दै विद्यालयका सञ्चालक तथा शिक्षक कृष्ण प्रसाद गैरेले विद्यार्थीहरुले आफ्नो अभिभावकसँग धेरै रकम डोनेसन बक्समा राख्नका लागि खेल खेलाएर मनोरञ्जन दिलाएका छन् । आफ्ना बाबु नानीहरुलाई हौसला दिन अभिभावकले पनि खुलेरै सहयोग गरेको उहाँले बताउनुभयो ।

विद्यालय सञ्चालक शैलेन्द्रकुमार झाले विज्ञान प्रदर्शनीमा नै मनोरञ्जनात्मक खेलहरु राखेको स्मरण गर्दै आज उक्त कामको प्रतिफल पाएको बताउनुभयो। विद्यालयको प्रार्थना समयमानै सम्पन्न उक्त रकम हस्तान्तरण कार्यक्रममा सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई संयुक्त रुपमा प्रमुख अतिथि बनाइएको जनाइएको छ । कार्यक्रममा संयुक्त रुपमा प्रहसन गर्दै विद्यालयका विद्यार्थीहरुलाई हौसला थपेको थियो ।

आफूहरुको अभियान नेपाल आमालाई हसाउँने अभियान होभन्दै त्यो अभियानको महत्वपूर्ण अभियान्ता एआइए स्कुल बनेको चर्चा गर्दै कुञ्जना घिमिरे (सुन्तली)ले प्रशंसा गरिन्। कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस)ले सहयोगी सम्पूर्ण विद्यार्थी शिक्षक तथा अभिभावक हरुलाई आफूले सहयोग गरेको रंगशालामा भएको काम हेर्न चितवनमा निमन्त्रणा गरेका छन्।

खेलकुद पत्रकार प्रकाश तिमल्सिनाले विद्यालयको सराहनीय कामको प्रशंसा गर्दै आफू पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानमा जोडिएरै अगाडी बढ्न चाहेको बताएका छन्। देशका लागि स्वर्णपदक विजेताहरु ओलम्पिक खेलाडीहरु समेत उपस्थित उक्त कार्यक्रममा ओलम्पियन दिपक विष्टले यस्तो एआईएले मात्र नभई अन्य विद्यालयले पनि सिक्नु पर्ने बताए।

कार्यक्रममा विद्यालयको पूर्वविद्यार्थी समाजका अध्यक्ष समेत रहेका समुन्द्र तिमल्सिनाको पहलमा १५५४ डलर उठेको थियो, भने विद्यार्थीहरुले खाजाको रकम कट्टा गरेरै डोनेसन बक्समा जम्मा गरेका थिए। एआईए मा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुले एक दिन को तलव धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग स्वरुप प्रदान गरे। उक्त कार्यक्रममा तीन लाख चालिस हजार दुई सया रुपैँयाको चेक हस्तान्तरण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्