उखु किसानलाई कनौडियाले तिरे १२ करोड

काठमाडौँ । उखु किसानको १८ करोड रुपैयाँ तिर्न बाँकी राखेका काँग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनौडियाले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरेका छन। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै ‘उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद वीरेन्द्र कनौडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको’ भनेका छन् ।

त्यस्तै शर्माले कनौडियाले अब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको समेत जनाएका छन् । उनले ट्विट्मा ‘अब चुक्ता गर्न ६ करोड बाँकी रहेको बताउँदै यथाशीघ्र चुक्ता गर्ने प्रतिबद्धता पनि पार्टीसँग व्यक्त गर्नुभएको छ ।’ लेखेका छन् । कनौडियाले गत साता उखु किसानहरुसँग गरेको सहमति अनुसार माघ ७ गतेभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए ।

उखु किसान र सरकार बीच पाँच बुँदे सहमति भएको थियो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा भएको वार्तामा पाँच बुँदे सहमति भएको हो। जस अनुसार माघ ७ गतेभित्र उखु किसानको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्ने गरी मन्त्रालयले सहजीकरण गर्ने ब्सहमति भएको थियो । त्यस्तै उखुको उत्पादकत्व बढाउने, किसानलाई समयमै मल, बीउ लगायत मेसिन उपलव्ध गराउने, नेपाली चिनी उद्योगलाई आत्म निर्भर बनाउन पहल गर्ने सहमति भएको थियो।

हरेकवर्ष देखिने भुक्तानी समस्या समाधानका लागि उखु बिक्री गरेको रकम तुरुन्त भुक्तानी हुनेगरी स्वचालित प्रणाली बनाउने सम्वन्धमा अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालय सहसचिवको संयोजकत्वमा किसान प्रतिनिधी र विज्ञ सम्मिलित कार्यदल बनाउने र कार्यदल को प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको थियो । सरकारले अनुदान वापत प्रदान गर्ने रकम तुरुन्त उपलव्ध गराउनका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि तथा अर्थ मन्त्रालयमा अनुरोध गरी पठाउने भएको थियो ।

उखु किसानको भुक्तानी, चिनीको आपूर्ति लगायतका विषयमा कुनै समस्या वा गुनासो आए मा किसान र उद्योगीले तत्काल गुुनासो गर्न र सरकारले सम्वोधन गर्नका लागि आपूर्ति व्यवस्थापन महा शाखालाई सम्पर्क महाशाखाको रुपमा तोक्ने सहमति भएको थियो । भुक्तानीका लागि काठमाडौंमा आइ आन्दोलन गरेका किसानले आजैबाट आ’न्दोलनका गति विधि स्थगित गर्ने सहमति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्