नेपालकै ठुलो राष्ट्रिय झण्डा मानहुँकोटमा राखिने

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । राष्ट्रभक्तिको भावना जागृत गर्न र झण्डा मार्फत व्यास नगर पालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यास नगर युवा क्लब सञ्जालले पर्य टकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको सो स्थानमा नेपालकै ठूलो झण्डा राख्न लागेको हो ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आगामी वैशाख १ गते मानहुँकोटमा नेपालको झण्डा फहराउने लक्ष्य राखिएको सञ्जालका अध्यक्ष गौरव पन्थले जानकारी दिए। उनका अनुसार मानहुँकोटको शिरमा नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राखेर उक्त स्थानको पर्यटकीय गतिविधिलाई अझै वृद्धि गर्ने ध्येय राखिएको छ ।सो क्षेत्रको राष्ट्रिय झण्डा सहितको पूर्वाधार निर्माणका लागि रु १९ लाख १२ हजार १७० बजेट अनुमान गरिएको छ ।

झण्डा निर्माणका लागि रु ५० हजार, पूर्वाधार निर्माणका लागि रु १६ लाख ५२ हजार १७०, प्रचार प्रसारका लागि रु ३० हजार, दाता सम्मानका लागि रु एक लाख बजेट अनुमान गरिएको छ। मानहुँकोटमा झण्डाका अतिरिक्त बस्नका लागि फलामे कुर्ची, उद्यान लगायत निर्माण गर्ने लक्ष्य राखिएको छ ।

सो झण्डा पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने दमौली र आसपासका क्षेत्र, कास्की, लमजुङका विभिन्न ठाउँबाट पनि देख्न सकिनेछ। झण्डाको लम्बाइ ४५ फिटको हुनेछ। यसमा प्रयोग गरिने खम्बा ७२ फिट अग्लो हुनेछ। हालसम्म नेपालको सबैभन्दा ठूलो झण्डा काठमाडौं स्थित माइतीघरमा राखिएको छ । जसको लम्बाइ १० मिटर र चौडाइ सात मिटरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्