दोलखा भीमसेनलाई पसिना आयो!

चरिकोट : सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १७ औं पटक पसिना आएको छ । भीम सेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि ७ बजेर २५ मिनेटसम्म एकघण्टा पसिना आएको हो । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १७ औं पटक पसिना आएको बताए ।

भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको उनले बताए । दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमे श्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमा पूजा अर्चना गरेका छन् । थप क्षमा पूजाका लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालय मार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ ।

राजाको पालामा पसिना आउँदा भने राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने चलन थियो । यसअघि २०६२÷०६३ को जनआन्दोलनको एक महिनाअघि, तत्कालिन राजा विरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भूकम्प आउनु भन्दा अघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । २०७४ असोज १० गते आएको पसिनापछि देशमा स्थानीय तह र संघीय नेपालमा सफलता पूर्वक निर्वाचन सम्पन्न भएको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्