आज २० लाख भक्तजनले पशुपति दर्शन गर्ने अनुमान

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा २० लाख दर्शनार्थीले पशुपतिनाथ दर्शन गर्ने अनुमान गरेको छ। कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले नेपाल भ्रमण वर्ष २०२० को रूपमा पनि यस वर्ष देश विदेशमा प्रचार भएकाले दर्शनार्थी बढ्ने बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा विजय कार्कीले लेखेका छन्।

कोषले शिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनमा आउने दर्शनार्थीहरूलाई निःशुल्क भोजन, पिउनेपानी, स्वास्थ्य सेवा लगायतको व्यवस्था गरिएको जनाएको छ।यस्तै, दर्शनार्थीहरूले बढीमा डेढ घन्टासम्ममा दर्शन गरिसक्ने व्यवस्था मिलाइएको खतिवडाले जानकारी दिए। कोषका अनुसार आगन्तुक र दर्शनार्थीहरूको सुरक्षाका लागि लागि पाँच हजार सुरक्षाकर्मी, पाँच सय सादा पोसाकका प्रहरी परिचालन भएका छन् ।

उनीहरूलाई १० हजार स्वयंसेवकले सघाउनेछन्। दर्शनार्थीहरूले बिहान चार बजे बाटै पशुपतिमा दर्शन गर्न पाउने व्यवस्था कोषले मिलाएको छ। पशुपति दर्शन गर्न चाहनेका लागि मित्र पार्क, जयबागेश्वरी, गौशाला तथा तिलगंगा गरी चार तिरबाट लाइन व्यवस्थापन गएिको छ । लाइन बसेकै स्थाननजिक जुत्ताचप्पलकक्ष स्थापना गरिएको कोषको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्