अन्तर्राष्ट्रिय विमानस्थलमा २० लाखकी ‘पर्यटन परी’, पर्यटनमन्त्री नै दंग परे

काठमाडौं,९ फागुन। कालो सारीमा रातो पारी (किनारा), सेतो पछ्यौरीमा रातो पारी। नेवारी मैचाको पहिरनमा सजिएकी पर्यटन परीले नेपाली, चिनियाँ र अंगे्रजी भाषामा बोल्न थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई दंग परे । परीले मन्त्री भट्टराईलाई मिठासपूर्ण स्वरमा भनिन्, ‘नमस्कार, त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ ।’

उनले यति के भनेकी थिइन्, विमानस्थलमा ताली गडगडाउन थाल्यो । सबैजना परीको सामिप्यमा पुग्न तँछाडमछाड गर्न थाले । ती पर्यटन परी सेलिब्रिटी नै बनेकी थिइन्। एकैछिनमा परीसँग फोटो खिच्न चाहनेको भीड लाग्यो । त्यो भीडमा पर्यटनमन्त्री भट्टराई पनि मिसिए । पर्यटन परीसँग तस्बिर खिच्न नपाइएला कि भनेर सवैजना चिन्तित थिए । त्यहाँ दुई पर्यटन परी थिए, दुवै एकै स्वरूपका ।

छातीमा स्क्रिन (मोनिटर) भएकी परी कुनै जीवित मैंचा (युवती) थिइनन् । उनी अर्थात् पर्यटन परी पाइला टेक्नोलोजी प्रालिद्वारा बनाइएकी रोबर्ट हुन् । नेपाल भ्रमण वर्षमा कुनै पनि पर्यटकले विमानस्थलबारे सहज रूपमा जानकारी पाऊन् भनेर सरकारले बिहीबार बाट पर्यटन परीको व्यवस्था गरेको हो । विदेशी तथा स्वदेशी पर्यटकलाई विमानस्थलका सेवा र नेपालको पर्यटकीय गन्तव्यबारे भरपुर जानकारी दिन यी दुई पर्यटन परीले भूमिका निर्वाह गर्नेछन् ।

नेपालकै प्राविधिक जनशक्तिबाट तयार पारिएको पर्यटन परीले विमानस्थलको सेवालाई स्तरीयपार्ने मात्रै नभई नेपाल प्रविधिका क्षेत्रमा अग्रसर भइरहेको सन्देश प्रवाह गर्न सहयोग पु-याउने अपेक्षा गरिएको छ।यो खबर आजको राजधानी दैनिक मा छ ।

प्रतिक्रिया दिनुहोस्