आजभोलिका घटना हेर्दा सङ्केत त्यति राम्रा देखिएनन्: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आए पछि आदर्शबाट विचलित भई बिग्रिने विश्व इतिहासको सङ्केत नेपालमा पनि देखिन थालेको बताएका छन् ।

नेकपाका संस्थापक एवं मध्यपुर थिमिका बासिन्दा नारायण विलास जोशीका स्मृतिमा मध्यपुरथिमि शङ्खधर चोकस्थित जनआदर्श क्याम्पस परिसरमा निर्माण हुन लागेको नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवनको आज शिलान्यास गर्दै उनले भने, “कम्युनिष्ट पार्टी सत्ता बाहिर आन्दोलन र क्रान्तिमा हुँदा निकै ठूलो त्याग र तपस्या गर्न सक्छन्, जनतासँग बसेर जनताले जे खान्छन् त्यही खाएर जनताको मन जित्न सक्छन् तर सत्ता प्राप्त गरिसके पछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने र बिग्रने गरेको थुप्रै विश्व इतिहास रहेको छ, अचेल नेपालमा पनि त्यसका सङ्केत र लक्षण देखापर्न थालेका छन् ।”

अध्यक्ष प्रचण्डले विश्वको कम्युनिष्ट इतिहासमा सत्तामा पुगेपछि आफूले आफैलाई सि’ध्याएको उदाहरण धेरै रहेको स्मरण गरे । ‘हामीले चाहे सो’भियत संघको कुरा भनौं वा पूर्वी युरोपको कुरा, यस्ता प’रिघटना हामीले देख्यौं,’ उनले भने, ‘यसो हेर्दा हाम्रो पनि नियति त्यता जाने खतराका संकेत अहिले भइसकेका भन्या होइन, मेरो भनाइलाई बढी नबुझियोस् तर सङ्केत त त्यति राम्रा देखिएनन्। आजभोलि यसो घटनाहरू हेर्‍यो मान्छेहरू त बिग्रिने(बिग्रिनेतिर गएजस्तो देखिएको छ।’

उनले देशको विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै, गल्तीकमजोरीलाई सच्याउने, त्यस्तो गर्नेलाई कारवाही गर्ने, पार्टीको शुद्धीकरण र सुदृढीकरण गर्ने, जनतासँगको सम्बन्धलाई बलियो बनाउने तथा राम्रा काम गर्नेतिर उद्दत हुँदै पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । जनतालाई सामान्य राजनीतिमा लाग्ने छुटसमेत नभएको राणादेखि सामन्ती वर्गविरुद्ध लाग्दै पुष्पलालसँग नेकपा स्थापनामा लाग्ने जोशीको स्मृतिमा भवन निर्माण हुन लाग्नु ठूलो विषय भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्