कागती खेतीबाट वार्षिक १५ लाख रुपियाँ आम्दानी

हरिप्रसाद कोइराला, लेटाङ(मोरङ) । तोरी र कोदो मात्र उत्पादन हुने बलौटे ३ बिगाहा जग्गामा कागती खेती गर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका विनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ। ३ विगाहामा वर्षभरि दुःख गर्दा मुस्किलले ५५/६० रुपियाँ कमाउने वस्ती कागतीको व्यवसायिक खेती गर्न थालेपछि ३ वर्षयता वार्षिक १५ लाख रुपियाँ आम्दानी गरिरहनु भएको छ ।

वस्तीले आफ्नो नीजि जग्गामा मद्रासी जातको कागती खेती गर्नुभएको छ । २०७० सालमा कागतीकोे व्यवसायिक खेती शुरु गर्नुभएका वस्तीले विरुवा रोपेको तेस्रो वर्षदेखि आम्दानी लिन थाल्नुभयो । वस्तीले भन्नुभयो – ‘२०७३ मा ३० टन उत्पादन भयो । ०७४ मा ४० टन कागती निस्क्यो । २०७५ सालमा असिनाले चिचिला झारिदियो । त्यो वर्ष १० टन मात्र कागती उत्पादन भयो ।’

यो वर्ष उहाँले ३० टन कागती निकालिसक्नु भयो । अझै ४/५ टन निस्किने वस्तीको भनाइ छ । ३ बिगाहामा कागती खेती गरि रहनु भएका वस्तीले अझै बजारको माग अनुसार कागती उत्पादन गर्न सक्नु भएको छैन । उहाँले भन्नुभयो – ‘मेरा जस्तै बगान २ सय वटा जति भए भने बल्ल माग धान्न सकिन्छ ।’ उहाँ आफ्नै कामदार लगाएर कागती टिप्नु हुन्छ र विक्रीका लागि इटहरी पु¥याउनु हुन्छ ।

दुईजना कामदारले वर्षभरिका लागि रोजगार पाएका छन् । त्यस्तै १० जना कामदारले ४५ दिन रोजगार पाउने गरेका छन्। दैनिक १० जना कामदारले डेढ टन कागती टिप्ने गरेको वस्तीको भनाइ छ । उहाँको आफ्नै गाडी छ। गाडीमा हालेर उहाँ इटहरी पु¥याउनु हुन्छ र विक्री गरेर २/३ बजे सम्ममा बगान आइपुग्नुहुन्छ । बजारको अभाव नभएकोले मूल्य नपाउने चिन्ता छैन ।

उहाँले भन्नुभयो – ‘विराटनगर, धरान र काठमाडौं देखि पनि कागती किन्न आएका छन् तर दिन सकेको छैन ।’ कागतीको अथाहा बजार भए पनि उत्पादन गर्न नसकेको उहाँले बताउनु भयो । माग उच्च भएपछि उहाँले कागती खेती विस्तार गर्न १५ हजार विरु वाको नर्सरी राख्नुभएको छ । खेती विस्तारसँगै बेलबारी नगरपालिकाले समेत विरुवाको माग गरेकाले नर्सरीसमेत विस्तार गरिरहेको उहाँले बताउनु भयो ।

सग्ला, राम्रा ठूला दाना कागती विक्रीका लागि बजार पु¥याउनु हुन्छ भने साना दाना कागती अचारका लागि स्थानीय घरेलु उद्योगले लाने गरेका छन् । अचार उद्योगका लागि लेटाङ नगरपालिकाले सहयोग गरि रहेको छ । कागती खेतीबाट राम्रो आर्थिक लाभ लिइ रहेको देखे पछि वस्तीका छिमेकी वीर भक्त राईले पनि ३ विगाहामा नै व्यवसायिक कागती खेती शुरु गर्नु भएको छ । जाँतेको रुखो खेतमा बाली चयन गर्न सक्दा राम्रो आर्थिक लाभ लिन सकिने उदाहरण प्रस्तुत गरिरहनु भएका वस्तीलाई सिंचाईको समस्या छ ।

प्रतिक्रिया दिनुहोस्