मन्त्री बिना मगरद्वारा पानी ट्याङकीको शिलान्यास

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको भीमदत्त नगर पालिका अन्तर्गत वडा नम्बर ६,८ र १० मा संचालन हुने खानेपानी ओभरहेड ट्याङकीको शिलान्यास गरेकी छन। श्री सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आयोजना गरेको कार्यक्रममा खानेपानी मन्त्री मगरले एक समारोहका बीच ओभरहेड ट्याङकीको शिलान्यास गरेकी हुन् ।

उक्त खानेपानी आयोजनाले भिमदत्त नगरपालिका तीन वडाका १७ सय २३ घरधुरीका करिब साढे ९ हजार जनसंख्या लाभान्वित हुने छन् । उक्त आयोजनाको कूल लागत १८ करोड ५३ लाख रुपैयाँँ रहेको समितिले जनाएको छ । यो ट्याङकीको क्षमता साढे चार लाख लिटर रहेको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी र सरसफाइको क्षेत्रमा सिङ्गो देशको सपाट मार्ग चित्र कोर्न चाहिरहेको बताए ।

उनले स्थानीय, प्रदेश र संघीय सरकारको नेतृत्वमा देशको सरसफाइ गुरुयोजना बनाउने तयारी भैरहेको जानकारी दिइन। उनले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्दै सूदुरपश्चिम क्षेत्रको विकासमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्य क्रममा साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले यो आयोजना अबको १३ महिना भित्रमा सम्पन्न गरिसक्नुपर्ने बताए।

उनले यो आयोजना एडीबी लगायत नगर विकास कोषबाट आर्थिक सहयोगमा बन्न लागेको जानकारी दिए । यसैबीच कन्चनपुरको बेलौरीमा भएको अर्को एक कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले जनताका माझ गरिएका प्रतिबद्धता क्रमिक रूपमा पूरा गर्दै जाने बताइन् । शुक्रबार कञ्चनपुरको बेलौरी नगर पालिका वडा नम्बर ८ पचुईमा निर्मित त्रिपुरा सुन्दरी भगवती मन्दिरको शिलालेख अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील रहेको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्