मुस्ताङमा हिमपात : जोमसोममा एक फिट हिउँ जम्यो

मुस्ताङ : केही दिनदेखि मौसममा आएको बदलीसँगै हिमाल पारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । मुस्ताङको थासाङ गाउँ पालिकाको लेते देखि माथि सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङको सदरमुकाम जोमसोममा मात्रै करिब १ फिटसम्म हिउँ जमेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले टेलिफोनमा जानकारी दिनुभयो ।

शुक्रबार बिहानैदेखि भएकाे हिमपातका कारण मुक्तिनाथ क्षेत्रमा डेढ फिट र उपल्लो मुस्ताङमा २ फिटसम्म हिउँ जमेको जानकारी आएको उहाँले बताउनु भयो । हिमपातसँगे उपल्लो मुस्ताङ जाने कालीगण्डकी खोलाको तिरैतिरको सडक पनि अवरुद्ध बनेको छ । यसैगरी हिमपातका कारण शुक्रबार जोमसोम विमानस्थलमा हवाई उडान प्रभावित भयाे भने जोमसोमको तापक्रम अहिले माइनस ५ डिग्री सेल्सियसमा पुगेको प्रजिअ अर्यालले बताउनुभयो ।

हिमपातले मुस्ताङका डाँडाकाँडाहरु सेताम्य भएका छन् । शुक्रबार पछिल्लो पटक परेको हिमपातले गर्दा मुस्ताङको जनजीवन समेत प्रभावित भएको छ । मुस्ताङमा पटक पटक परेको भारी हिमपातका कारणले गर्दा कोरला नाका जोड्ने बेनी– जोमसोम– कोरला सडकखण्डको जोमसोमभन्दा माथिको खण्ड भने अहिलेसम्म खुलेको छैन ।

वर्षा र हिमपातले चिसो बढे पछि मनाङको थोरङ्लापास क्षेत्र तथा म्याग्दीको दाना भएर मुस्ताङ भित्रिने पर्यटकहरुलाई आवश्यक सुरक्षा स’तर्कता अपनाउन निर्देशन दिइएको छ। हिमपात र वर्षाका कारण पर्यटक, यात्रु तथा सर्वसाधारणलाई समेत टाढाको यात्रामा ननिस्कन सुझाव दिइएको प्रजिअ अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्