कोरोनाको त्रासदी : इपिएस उत्तीर्ण नेपालीलाई कोरिया जान रोकियो, प्रस्तावित उडान रद्द

काठमाडौं, ११ फागुन । दक्षिण कोरियामा चीनपछि सबैभन्दा बढी कोरोना भाइरसको सं’क्रमण फैलिएपछि इपीएस उत्तीर्ण नेपालीलाई दक्षिण कोरिया जान रोकिएको छ। दक्षिण कोरियामा आक्रामक रुपमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि कोरिया जाने तयारीमा रहेका उडान समेत तत्कालका लागि रद्द गरिएको छ ।

यसै हप्ता दक्षिण कोरिया जान तयार ५० जना नेपालीको उडान मिति तय भएको भए पनि तत्कालका लागि सार्ने निर्णय गरिएको इपिएस कोरिया शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिएका छन्। इपीएस मार्फत दक्षिण कोरिया जान लागेका नेपालीहरुको उडा न मार्च तेस्रो सातापछि गरिने उनले जानकारी दिएका छन् । फागुन १८ गते नेपाली कामदार पठाउने भनिए पनि यस विषयमा छलफल गरेर विभागले निर्णय लिने उनले बताए ।

‘यस उडानलाई नेपालले स्थगित गरेको होइन’, उनले भने, ‘दक्षिण कोरियाले उडानलाई सारेको हो ।’ दक्षिण कोरियामा कोरोना भाइरसको सं’क्रमण फैलिए पछि सम्पूर्ण प्रक्रिया पुरा गरेर दक्षिण कोरिया जान तयार भएका नेपालीको उडान केही समयका लागि सारिएको हो । दक्षिण कोरियामा करिब ४० हजार नेपाली कामदार छन् । हाससम्म दक्षिण कोरियामा यो संक्रमणबाट पाँच सय भन्दा बढी संक्रमित फेला परेका छन् ।

नोबेल कोरोना भाइसरको संक्रमण दरबढदै गए पछाडि दक्षिण कोरियामा रोजगारका लागि गएका नेपालीको विषयमा वैदेशिक रोजगार विभागले छलफल गर्ने भएको छ। दक्षिण कोरियामा रहेका नेपालीमा पनि संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाउन सिओल स्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत सबैमा आग्रह गरेको छ । नोबेल कोरोना भाइरसको संक्रमण चीनको हुवे प्रान्तको वुहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्