अब खुल्यो मौसम

काठमाडौं : पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शुक्रबारबाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार पश्चिमी भू-भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भू-भाग हुँदै बाहिरिने मौसमविद् सजिना शाक्यले बताए। शुक्रबार साँझदेखि मौसम क्रमिक सुधार भई जाने जनाइएको छ।

राति देशका मध्यपूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार देशका पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्य तया सफा रहने बताइएको छ। आइतबार देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू- भागमा मौसम सफा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महा शाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन तथा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १३ दशमलव सात डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम डडेल्धुराको न्यूनतम तापक्रम माइनस शून्य दश मलव एक डिग्री सेल्सियसमा झरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्