अब नयाँ लाइसेन्स लिनेको लिखित र ट्रायल परीक्षा कम्प्युटरबाट, कपी जाँच्नेले चलखेल गर्न नपाउने

काठमाण्डौं। सरकारले सवारी चालक अनुमति पत्र सम्बन्धी कार्यविधि संशोधन गर्ने भएको छ। यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले चालक अनुमतिपत्र स्वचालित प्रणालीमा गर्न लागेकाले कार्यविधि परिवर्तन गर्न लागेको जान कारी दिए। निर्देशक खनालले अहिलेको कार्यविधिले अटोमेसन प्रणालीमा काम गर्न नमिल्ने भएकाले कार्यविधिमा संशोधन गर्न प्रस्ताव गरेको बताए।

हाल लाइसेन्सको लागि दिइने लिखित परीक्षा अपारदर्शी भएको आ’रोप लाग्दै आएको छ। परीक्षा दिने ठाउँमा आफ्नो मान्छे भयो भने फेल भए पनि पास गराउने गरेको भेटिने गरेको छ। परीक्षा प्रणालीलाई पारदर्शी बनाउनकै लागि प्रविधिको प्रयोग गर्नुपर्ने आवश्य कता रहेको खनालले बताए। कार्यविधि संशोधन भए लाइसेन्सको लागि ‘कम्प्युटर बेस’ परीक्षा सञ्चालन हुनेछ।

अहिलेको कार्यविधि अनुसार वस्तुगत प्रश्न सोध्ने गरिएको छ। त्यसमा भने परिवर्तन नहुने तर अहिले कापीमा लगाउने ‘टिक’ अब कम्प्युटरमा लगाउनु पर्नेछ । परीक्षापछि पास वा फेल आफैँ कम्प्युटरले जाँच्ने खनालले बताए । यसले गर्दा कपी जाँच्नेले चलखेल गर्न नपाउने भएकाले परीक्षा पारदर्शी हुने उनको भनाइ छ। त्यस्तै ट्रायलमा पनि सबै कम्प्युटर प्रविधिमा आधारित हुने उनले बताए।

संघीय सवारी तथा यातायात व्यवस्था ऐनमानै व्यवस्था गरेर ठूला सवारीसाधनका लागि लिइने लिखित र प्रयोगात्मक दुवै परीक्षामा केही परिवर्तन गर्न लागिएको हो। ‘ठूला सवारीसाधन चलाउने जस्तो विषय सामान्य ट्रायल दिएर हुँदैन,’ उनले भने, ‘त्यसका कारण फिल्डमा टेष्ट नै लिन लागेका हौ।’ उनका अनुसार यसका लागि तीन महिने कोर्ष नै राख्ने प्रस्ताव गरिएको छ।

विभागका अनुसार सवारीको यान्त्रिक जानकारी र यात्रुसँग गर्ने व्यवहार लगायतका विषय समावेश हुने छन्। सोही कोर्ष पढेर लिखित परीक्षा दिनु पर्नेछ । अहिलेको ट्रायलसँगै फिल्डमा टेष्ट समेत हुनेछ। ट्रायल पास गरेको करिब ६ महिना अवधिलाई ट्रायल पिरीयड (परीक्षणकाल) राखिने छ। ६ महिनामा राम्रो रिपोर्ट कार्ड भए मात्रै विभागबाट लाइसेन्स पाइन्छ। यो अवधिमा कुनै दुर्घटना भएमा लाइसेन्स लिन पुनः केही महिनाको ट्रायल पिरीयड दिइने छ।

प्रतिक्रिया दिनुहोस्