बर्दीमै टिक-टक बनाउने प्रहरी इञ्चार्ज कारबाहीमा

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमा ‘टिकटक’ भिडियो बनाएपछि नेपाल प्रहरीका नायब निरीक्षक (सइ) रत्नबहादुर थापा कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् । भक्तपुर सुडालमा कार्यरत सइ थापा र एक महिलाले प्रहरी पोसाकमै पेस्तोल बोकेर ‘टिकटक’ बनाएका थिए।

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले आइतबार सई थापाविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएका छन्। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार ती महिला प्रहरी हुन् वा होइनन् भन्नेबारे अनुसन्धानबाट खुल्नेछ।

बर्दीमै टिक-टक भिडियो बनाएका सई रत्नबहादुर थापालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कारबाही गर्ने भएको हो। प्रहरी आचरण विपरितको कार्य गरेको भन्दै उनीमाथि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले अनुसन्धान थालेको जनाइएको छ । भक्तपुर स्थित सुँडाल प्रहरी कार्यालयमा इञ्चार्जका रूपमा कार्यरत थापाको ठाउँमा महानगरमा कार्यरत सई राजु प्रसाईंलाई पठाइएको बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस्