कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव, नेपालको नक्शा अंकित १५ किलोको केट काटे

काठमाडौं : जन्मोत्सव मनाउन चार हेलिकोप्टर सहित आठराई पुगेका प्रधानमन्त्री ओलीले ट्र्याक्टरमा ओसारिएका विद्यार्थीलाई कापी–कलम वितरण गरे, यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा आफ्नै स्वामित्वको एयर अल्टि च्युडको हेलि कोप्टरमा केक बोकेर ओलीको जन्मगाउँ पुगेका थिए

कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् । सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबल सहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए । सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो ।

जन्मोत्सव मनाउन प्रधानमन्त्री ओलीले आफ्नै पहलमा पार्टी नेता–कार्यकर्ताका लागि बनाएको आचार संहिताको समेत उल्लंघन गरेका छन्। गत ५ माघमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जन्मदिवस, पास्नी, व्रतबन्ध जस्ता सं’स्कारका कार्यक्रमलाई घर परिवारमा मात्र सीमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता–कार्यकर्ताका लागि आ’चारसंहिता जारी गरेका थिए ।

तर, प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुईजना प्रदेश प्रमुख, प्रदेश १ का मुख्य मन्त्री र मन्त्री तथा केही नेतालाई लिएर हेलिकोप्टरबाट आठराई पुगे । तेह्रथुम वरिपरिका मात्रै होइन, झापा र मोरङ सम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराई ओइरिए । गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई जन्मोत्सव कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्