कोरोना भाइरसको जोखिम : चीनले अपनाएको उच्च सतर्कता नै नेपालकाे भरोसा

काठमाण्डाै : धादिङ सल्यानटारका विष्णु बहादुर दराई आइतबार ओमानबाट नेपाल फर्किनुभयो । दिउँसो १ बजे झिटिगुण्टासहित त्रिभुवन विमान स्थलमा भेटिनुभएका उहाँलाई कति बेला घर पुगौँ भन्ने हतारो थियो । मोबाइलबाट आफन्तलाई फोन गरिरहनुभएका उहाँले भन्नुभयो, ‘सरकारले विमानस्थलमा जाँचको व्यवस्था गरेको छ भनेको सुनिन्थ्यो, तर भित्र केही जाँच भएजस्तो लागेन ।’

छेवैमा रहेका ट्याक्सी चालकले उहाँकै कुराका थपे, ‘हामी त झन् त्रासमा छौँ । नेपाली, चिनियाँ सहित विभिन्न देशबाट आउनेहरुलाई दिनहुँ बोक्नुपर्छ, नबोकि सुखै छैन।’ विमानस्थलमै भेटिनु भएका खोटाङ दिक्तेलका खड्क बहादुर नेपालीले पनि विमानस्थलमा सरकारले व्यवस्था गरेअनुसार यात्रुको जाँच नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आउनेहरुको जाँच त के हुनु ? झोला चाहिँ खोतलेर झुत्रै बनाउँछन् ।’

अस्ट्रेलियाबाट काठमाण्डौ आउनु भएकी जिना क्षेत्रीले पनि उताको विमानस्थलमा जाँच भए पनि नेपालमा जाँच नभएको बताउनु भयो । पहिलो पटक चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म २८ देशमा फैलिसकेको छ। नेपाल भित्रने नाकामा पनि निगरानी पर्याप्त छैन । भारतसँग खुला सीमा पनि समस्या नै छ । अनि सङ्क्रमण देखा परे उपचारका लागि सबैतिर उपकरण र प्रविधि छैन ।

किनभने केन्द्रीय प्रयोगशालामा सङ्क्रमण प्रमाणित गर्नुपर्ने बाध्यता छ । प्रयोग शालामा जाँच गरी रिपोर्ट आउन लाग्ने समयले अरुमा फैलने सम्भावना उत्तिकै हुन्छ । चीनमा जस्तो १० दिनमै अस्पताल बनाउने नेपालको क्षमता पनि छैन । छिमेकी चीनले स’ङ्क्रमण फैलन नदिन अपनाएको उच्च सतर्कता नै नेपालकाे भरोसा भएकाे डाक्टर सुन्दरमणि दिक्षित बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘स्वास्थ्य चेतना र परामर्शले मात्रै नेपालमा भाइरस भित्रिँदैन भन्न सकिने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्