‘आमा’ नामजस्तै वजनदार फिल्म

काठमाडौं : कथित स्टार, आइटम सहित केही गीत र खर्चिलो क्लाइमेक्सले भरिएको फिल्म सुन र दर्शक कन्फ्युज गर्ने द्वैधअर्थी संवाद सुगन्ध मान्ने थुप्रै फिल्म कर्मी छन् नेपाली चलचित्र क्षेत्रमा । ती सबैका लागि गतिलो झापड हो – फिल्म ‘आमा’ । ‘पशुपति प्रसाद’ जस्तो उत्कृष्ट फिल्म दिएका दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्मप्रति दर्शकको हाई एक्स्पेक्टेसन हुनु स्वाभाविक पनि हो ।

‘आमा’ सो अपेक्षा भन्दा माथि छ भन्दा कसैको दुई मत नहोला । निजी अस्पतालमा उपचारको बहानामा घुमाएर लुट्ने प्रवृत्ति, बिरामीको आफन्तको बाध्यता र समाजबाट लोभ हँुदै गएको मानवता जस्तो तीतो यथार्थ फिल्मले केलाउने प्रयास गरेको छ । परम्परा गत फिल्म निर्माण शैलीलाई पूर्ण नकारेको छ फिल्मले ।

आइटम सहित तीन,चारवटा गीत, सबैभन्दा बलियो हिरो र उसलाई टर्चर दिने गुन्डा र प्रेममा परेका नायक नायिकाको उत्कृष्ट लोकेसनको रोमान्समा रमाउने दर्शकको अपेक्षा फिल्मले पूरा गर्न नसक्ला तर यस्ता दर्शकलाई पनि पूरै समय बाँधेर राख्ने क्षमता सहित आएको छ ‘आमा’ । यतिबेला निर्देशक दीपेन्द्र के खनालले ‘आमा’ चलचित्र मार्फत आमाप्रतिको आत्मीयता देखाउने प्रयास गरेका छन् ।

उनले यो चलचित्रमार्फत नेपाली समाजको मध्यमवर्गीय परिवारको सपाट चित्रण गरेका छन् । गाउँमा बस्ने यज्ञप्रसाद अर्याल (देशभक्त खनाल) आफ्नो छोरासँग त्यति खुशी छैनन् । बूढेश कालमा छोरासँगै नभएको पीडा बाबुआमा दुवैमा छ । बिहे गरेर गएकी छोरी आरती (सुरक्षा पन्त) काठमाडौंमा बस्दै आएकी छे । छोरो चोर बाटो हुँदै अमेरिका पुगेको छ । बुबाले कमाएको पैसा पनि छोरो अमेरिका जाँदा सकिन्छ ।

अमेरिका जाँदाको ऋण छोराले तिरेर भ्याइएको छैन । एक साँझ यज्ञप्रसाद भर्‍याङबाट लड्छन् । उनको टाउकोमा गम्भीर चोट लाग्छ । उपचारका लागि तुरुन्तै काठमाडौं पुर्‍याइन्छ । त्यसपछि शुरु हुन्छ चलचित्रको कथा । खुशीसाथ रमाइरहेको परिवारमा पैसाका कारण कस्तो समस्या आइपर्छ, त्यही नै चलचित्रको कथा हो । चलचित्रले अस्पतालमा हुने लू’टतन्त्रको पाटो पनि उठाएको छ ।

चलचित्रमा गहन विषय त छ नै, बिरामी र कुरुवाले कसरी दुःख पाउँछन् भन्ने पनि देखाइएको छ । भोगेकालाई आफ्नै कथा चलचित्रमा देखाइएको अनुभूति हुन्छ। धेरै दृश्य अस्पताल परिसरमै खिचिएको चलचित्रका कैयन् दृश्य उही छन् । तर, कथाले बाँधिराख्छ । काठमाडौंमा सामान्य जागीर गरेर बस्ने परिवारको जीवन कति सकसपूर्ण र जोखिमपूर्ण छ भन्ने कथा उनिएको चलचित्र ‘आमा’ दीपेन्द्र के खनालका चलचित्रमध्ये अर्को एक प्रशंसनीय चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्