निजी खर्चमा गाउँपालिका अध्यक्षले गरे सडक निर्माण

फागुन १३, २०७६ म्याग्दी : रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले निजी खर्चमा गाउँपालिकाभित्रको विकट क्षेत्रमा सडक निर्माण गरेका छन्। वडा नम्बर १ बेगखोलाको चेन्डाँडा, सिमफाँट, भौसरा र चुतर्नीमा अध्यक्ष भण्डारीले पाँच लाख नौ हजार रुपैयाँमा सडक निर्माण गरेका हुन्।

स्थानीयवासीको अनुरोधमा निर्माण गरिएको साढे दुई किलोमिटर लम्बाइको सडकको सोमबार उदघाटन गरिएको छ । चेनडाँडाबाट विस्तार गरिएको मोटरबाटो सिद्धनाथ, तल्लो लिला हुँदै चुतर्नी जोडिएको स्थानीय खिम फगामीले बताए । सडक विस्तारसँगै बेगखोला रिङरोडमा परिणत भएको छ।

बेगखोलाका विभिन्न बस्तीबाट छिमेकी भगवती, बेगखोला हुँदै बेनी र पोखरेबगरतर्फ जान सहज भएको छ भने एक वस्तीबाट अर्को बस्तीमा आवतजावत गर्न मिल्ने स्थानीयले बताएका छन्। सडक निर्माणपछि सिमफाटमा ६० घरधुरी, भौसरा र चुतर्नीका ४० घरधुरी लाभान्वित भएका छन्।

प्रतिक्रिया दिनुहोस्