रवि लामिछाने प्रस्तोता रहने ‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने

चितवन : टेलि भिजन रियालिटी शो ‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने भएको छ । सञ्चाकर्मी रवि लामिछाने प्रस्तोता रहने उक्त शो को पहिलो अडिसन आउँदो चैतको पहिलो साता भरतपुर माविमा हुन लागेको हो । ‘एसआर बीएन’ मिडियाले सञ्चालन गर्न लागेको ‘द लिडर’ को पहिलो शो चितवनबाट गर्ने गरी तयारी भईरहेको द लिडरका निर्माता रमेश न्यौपानेले जानकारी दिए ।

उनले अडिसनका लागि भरतपुर माविलाई छनोट गरिएका जानकारी दिए। कार्यक्रमको निर्णायकमा पूर्वप्रधान मन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की,पूर्व पत्रकार तथा साझा पाटीका संयोजक रविन्द्र मिश्र, नेताहरु प्रदिप गिरी र प्रदिप नेपाल रहने छन् । कार्यक्रम न्यूज २४ टेलिभिजनका साथै रमाइलो टिभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ ।

सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरेर १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने न्यौपानेले जानकारी दिए । प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्ट मेन्ट, गाडी र २० लाख रुपैयाँ बाट पुरस्कृत गरिने छ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी छ । प्रतिस्पर्धीको भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने आयोजकले दाबी गरेको छ । चितवन अडिसन लगत्तै सुनसरीको इटहरी, जनकपुर, पोखरा, बुटवल, धनगढीमा हुने छन् । उपत्यका बाहिरका अडिसन सकिए पछि देश बाहिर ५ स्थानमा अडिसन गरिने छ। त्यसलगत्तै काठमाण्डौमा पहिलो चरणको गरिने ‘द लिडर’ का निर्माता न्यौपानेले बताए ।अडिसनमा सहभागि हुनका लागि गुन्द्रुक एप मार्फत फर्म भर्न सक्ने व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्