पृथ्वी जयन्ती आज, विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं। आज २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ। १७७९ साल पुस २७गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासन कालमा चार दर्जनबढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए। भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा २९८औं पृथ्वी जयन्ती त्रिद्विवसीय कार्यक्रमसाथ मनाईँदै छ। प्रज्ञा प्रतिष्ठानमा २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस को ३ दिने कार्यक्रमको घोषणा गरिएको हो। दिवसको सन्दर्भमा शुक्रबार यहाँ ‘पृथ्वीनारायण शाह र अन्तर हिमाली भूराजनीति’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ।

यस्तै शनिबार संयुक्तरूपमा ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी आयोजना गरिएको छ। आइतबार पृथ्वी जयन्तीको दिनमा शोभायात्रा सहित शालिकमा माल्यार्पणको कार्यक्रम रहेको आयोजकले जनाएको छ। आइतबार साँझनै राष्ट्रिय नाचघरमा लोक सांस्कृतिक उत्सव आयोजना गरिने जनाइएको छ। यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीजयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा उनले असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने बताउँदै परस्पर प्रेम, एकता र सद्भावका निम्ति आग्रह गरेका छन। पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाल पुलिस क्लब प्रदर्शनी मार्गमा आइतबार दिउँसो चियापान कार्यक्रमको आयोजना गर्दैछ

प्रतिक्रिया दिनुहोस्