यात्रुबाहक बसमा कर्णालीका स्टिकर- “यसपालि घुमौँ कर्णाली”

सुर्खेत, १७ फागुन । नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुर्याउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्य मा सुर्खेत काँक्रेविहार यातायात प्रालिले बसमा स्टिकर टाँस्न थालेको हो । कर्णालीका १० वटै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुको तस्वीर सहितको स्टिकर प्रकाशन गरिएको छ ।

स्टिकरमा पर्यटकीयस्थलका साथै नेपाल भ्रमण वर्ष,२०२० तथा प्रदेश सरकारको ‘यसपालि घुमौँ कर्णाली’ नारा सहितको लोगो पनि समावेश गरिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्यले कर्णाली प्रदेशका मुख्य गन्त व्यको प्रचारप्रसार गर्ने उद्देश्यले स्टिकर प्रकाशन गरिएको जानकारी दिनुभयो । सो प्रालिले पहिलो पटक स्टिकर टाँस्ने कार्यको शुरुआत गरेकामा सचिव डा आचार्यले प्रशंसा व्यक्त गर्नुभयो ।

उहाँले कर्णालीको समग्र पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण भइसकेकाले योजनाबद्ध विकासमा ध्यान दिनुपर्ने बताउनु भयो। सो प्रालिका अध्यक्ष रमेश सापकोटाले पहिलो चरणमा सुर्खेत– काठमाडौँ, जाजरकोट–काठमाडौँका लागि ल्याइएका आठ वटा नयाँ रात्रिबस र सुर्खेतबाट कर्णालीका पहाडी सडकमा सञ्चालन हुने २० वटा गाडीमा पर्यटकीय सूचना सहितका स्टिकर टाँसिएको जानकारी दिनुभयो ।

शुरुआतमा प्रालिकै खर्चमा स्टिकर प्रकाशन गरेको र आगामी दिनमा प्रदेश सरकारले नै स्टिकर उपलब्ध गराउने उहाँकाे भनाइ छ । स्टिकरमा राराताल, देउती बज्यै मन्दिर, बुलबुले, काँक्रे विहार, जाजरकोट दरबार, त्रिपुरासुन्दरी मन्दिर, छत्रेश्वरी मन्दिर, शेफो क्सेन्डो, पञ्चकोशी ज्वाला लगायतका स्थलका तस्वीर छन् ।

प्रतिक्रिया दिनुहोस्