मन्त्री नेम्वाङ्गका १०० दिन : नौ हजार पाँच सय खाडल पुरिए

काठमाडौं, १७ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले आफ्नो एक सय दिनमा दुई सय किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी गराएका छन्। आफूले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले सय दिनमा दुई सय किलोमिटर सडक कालोपत्रे, एक सय ३० किलोमिटर ग्राभेल र ६९ किलोमिटर नयाँ ट्रयाक खोलिएको जानकारी गराएका छन् ।

उनले सय दिनमा ४० वटा पक्की पुलको निर्माण कार्य सम्पन्न गरिएको बताएका छन् । काठमाडौं उपत्यकाका झण्डै २७ किलोमिटर सडकमा कालोपत्रे गरिएको र आउँदो असारमा सक्नेगरी थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने कामपनि भैरहेको मन्त्री नेम्वाङ ले जानकारी गराए ।

कोटेश्वरको जाम घटाउन चार लेन सडक थप गर्नको लागि पर्यटन मन्त्रालयबाट जग्गा प्राप्त भएको, चक्रपथ अन्तर्गत ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाइ ओभरको डीपीआर तयार गर्नका लागि परामर्शदाता छनोट कार्य भइरहेको, सूर्य विनायक–धुलिखेल सडकखण्डलाई विस्तार तथा कोटेश्वर जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालीन रुपमा समाधान गर्न फ्लाइओभर र अन्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको पनि मन्त्री नेम्वाङले जानकारी गराएका छन् ।

मन्त्री नेम्वाङले राष्ट्रिय गौरवका योजनाको काम प्रभावकारी बनाउन र रुग्ण अबस्थामा रहेका योजनाको काम अघि बढाउन बिशेष पहल गरि रहेको पनि बताएका छन् । यस्तै दुई किलोमिटर रेल मार्गको ट्रयाक खोलिएको र काठमाण्डौको खाल्डा खुल्डी पुर्नु आफ्नो मुख्य सफलता बताएका छन् । उनले एक सय दिनमा सडक विभाग अन्तर्गत रहेका सडकहरुका ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरिएको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्