खानेपानीका लागि शौचालयको ढल मिसाएकाे नदीकै भर, ३ घण्टा हिँडेर पानी बोक्नु पर्ने बाध्यता

खलङ्गा, १८ फागुन । यहाँको भेरी नगरपालिका–१३, कुदुकी हीरा गिरी पैदल हिँडेर नजिकैको भेरी नदी किनारमा पुग्नुहुन्छ । नदी सङ्लो भए खुसी हुने र धमिलो भए मन खिन्न हुने उहाँको दैनिकी छ। नदीको पानी धमिलो भए पनि गाग्री नभरेर उहाँलाई धरै छैन । डोल्पाको दुनै हुँदै ठूलीभेरी बग्छ भने रुकुम मुसिकोट हुँदै सानीभेरी बग्छ ।

जाजरकोटको रिम्नामा दुवै नदी मिसिएर बनेको भेरी नदी किनारमा सयौँ बस्ती छन् । कतिपय ठाउँमा सीधै नदीमा शौचालयको ढल र अन्य ढल मिसाइएको छ । जसले गर्दा भेरी नदी दिन प्रतिदिन प्र’दूषित भइरहेको छ । तर, विकल्प नहुँदा कुदुवासी भने त्यही फोहोर पानी पिउन बाध्य छन् । सदरमुकाम खलङ्गा नजिकैको गाउँ हो कुदु । यहाँका करिब ४०० स्थानीय तीन घण्टा हिँडेर भेरीको पानी बोक्नुपर्ने स्थिति छ ।

स्कुले विद्यार्थीदेखि उमेरले नेटो काटिसकेका महिलालाई खानेपानीको समस्याले निकै पिरोल्ने गरेको छ। ६७ वर्षीया कमला आचार्यलाई बिहानबेलुका भेरी नदीबाट पानी ल्याउने चिन्ताले सधैँ सताउँछ । उहाँले नदीको धमिलो पानीका कारण रुघाखोकीजस्ता रोग लागे पनि बाध्य भएर खानुपरेको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्