विद्यालयको दिवा खाजामा कोदो, पिँडालु र सि’स्नुको साग !

बैतडी । बैतडीका स्थानीय तहले विद्यालयको दिवा खाजामा स्थानीय उत्पादनलाई जोड दिएर विद्यार्थी लाई अर्ग्यानिक दिवा खाजा खुवाउन थालेका छन् । बैतडीका १० वटै स्थानीय तहले विद्यालयमा दिवा खाजाका रुपमा दैनिक सूची नै तयार गरेर कोदो, घिउ, हरियो साग, सिस्नोको साग, उसिनेको आलु, पीँडालु, अण्डा, दाल र गेडागुडी र फलफुल खुवाउन थालेका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाले आइतबार अण्डा, हरियो साग, घिउ र चामल, सोमबार पुरी, आलुको तरकारी र हरियो साग, मंगलबार भिजाएको भट्मास र हरियो साग, बुधबार उसिनेको आलु वा पीँडालु र गेडा गुडी, बिहीबार उसिनेको मकैं, तरकारी र हरियो साग, शुक्रबार स्थानीय फलफुल र गेडागुडीको सूची तयार गरेर दिवा खाजा खुवाउन थालेको छ ।

दोगडाकेदारको चनै आधारभूत विद्यालयको दिवा खाजामा एक दिन सिस्नुको झानेको साग र मकैको ढिडो खुवाई रहेको विद्यालयका प्रधानाध्यापक दमयन्ति जोशीले बताउनु भयो । सिस्नोको झानेको साग बनाउने विधिका बारेमा सहायक प्रधानाध्यापक भूवनेश्वरी भट्ट तालिम लिएपछि विद्यालयको दिवा खाजामा सिस्नोलाई प्राथमिकता दिईएको छ ।

सहायक सहायक प्रधानाध्यापक भूवनेश्वरी भट्ट भन्नुहुन्छ–“ दुई चम्चा सिस्नोको सागमा एक किलो मासु बराबरको क्यालेरी प्राप्त हुने कुरा मैले तालिम लिएपछि थाहा पाए । सिस्नो निकै पौष्टिक आहारा रहेछ ।” दिवा खाजाको रुपमा स्थानीय उत्पादन जे छ त्यसैलाई दिवा खाजाका रुपमा समेटिएको दशरथ चन्द नगरपालिकाका उप प्रमुख मीना चन्दले बताउनु भयो । गोरखापत्रमा गोकर्ण दयालले लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्