‘बीच्च बीच्चमा ४’ वि’वादपछि दुर्गेशले ल्याउने भए ‘बहिष्कार’

काठमाडौं : गायक एवं मोडल दुर्गेश थापाले ‘बहिष्कार’ बोलको नयाँ गीत ल्याउने तयारी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्टर सार्वजनिक गर्दै ‘बहिष्कार’ शीर्षकमा गीत ल्याउने तयारी गरेको जानकारी दिएका छन् । ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ विवादमा तानिएपछि दुर्गेशले ‘बहिष्कार’ गीत ल्याउन लागेका हुन् ।

दुर्गेशले केही दिनअघि ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ बोलको तीज सार्वजनिक गरेका थिए । सो गीत ल्याएसँगै उनी त्यसमा प्रयोग भएको शब्दहरुले तीज पर्व र महिलाहरुको अपमान गरेको आरोप सहित विवादमा तानिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रति ष्ठानले गीतलाई लिएर दुर्गेशलाई बहिष्कारको निर्णय गर्यो ।

प्रतिष्ठानले बहिष्कारको निर्णय गरेसँगै दुर्गेशले ‘बहिष्कार’ शब्दलाई नै शिर्षक बनाएर गीत सार्वजनिक गर्ने तयारी गरेका हुन् । दुर्गेशले भने–‘यसअघि पनि मलाई आलु जस्तो गायक भन्दा यही शिर्षकमा गीत सार्वजनिक गरेँ। अहिले ‘बहिष्कार’को कुरा आइरहँदा यही शिर्षकलाई नै लिएर गीत तयार गर्ने सोच बनाएको हुँ ।’

उनले, यो गीत राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानप्रति लक्षित गरेर तयार नपार्ने पनि बताएका छन्। अहिले गीतको कन्सेप्ट मात्र तयार भएको उनले बताए। गीतको रेकर्डिङ केही समयमै गर्ने र भदौंको पहिलो साता सार्वजनिक गर्ने तयारी आफूले गरेको थापाको भनाई छ । दुर्गेशले आफूले अहिलेको पुस्ताले जुन खालको गीत खोज्छन्, सोही अनुसार आफू पनि अगाडि बढ्ने गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्