घनश्याम भुसाललाई मन्त्री पद ‘निल्नु न ओकल्नु’

काठमाडौं : भारतबाट ल्याउने गरेको धूलो दूधलाई रोकेका तत्कालीन कृषिमन्त्री चक्रपाणि खनाललाई प्रतिस्थापना गरी ल्याइएका कृषिमन्त्री घनश्इाम भुसाललाई मन्त्री पद निल्नु र ओकल्नु भएको चर्चा छ। मन्त्री भएको ३ महिना बित्न लागि सक्दा पनि उनले कामको भेउ नै समाउन नसकेको कर्मचारीहरू गुनासो गर्छन् ।

सिद्धान्तकार र चरित्रवान नेताका रुपमा चर्चामा रहेका मन्त्री हुन् भुसाल । यसपूर्व सरकारबाहिर बसेर सरकारको तीव्र आलोचना गर्दै आइरहेका थिए । त्यही सिलसिलामा उनलाई प्रधानमन्त्री ओलीले मन्त्री नै बनाइदिए तर मन्त्री भएपश्चात् न त कृषकले राहत पाउने ठोस काम गर्न सके न केही नयाँ योजनासहित सार्वजनिक हुन सकेका छन् ।

बाहिर बसेर बोल्दा र कुर्सीमा बसेर बोल्दा निकै नै गाह्रो हुने अनुभूति सम्हाल्दै मन्त्री भुसाल अहिलेसम्म पनि कृषि मन्त्रालयको बारेमा बुझ्दै छु भन्दै हिँड्न थालेका छन् । प्राविधिक मन्त्रालय भएका कारण कर्मचारी सँग चोसो मिलाउन नसक्दा मन्त्री अहिले यता न उताका भएका छन् । त्यसमाथि पनि आफूले मन्त्रालय सम्हालेको केही समयपश्चात् नै कृषि सेवातर्फका सचिव युवकध्वज जिसी जागिरबाट राजीनामा दिएर गएपछि उनलाई झन् सकस परेको छ ।

जिसीले जाँदाजाँदै मन्त्रालयमा २ सचिव आवश्यक नभएको भन्दै पशुपन्छी सेवातर्फबाट सचिवबाट काम लिनु उचित भन्दै गए पछि २ साता बितिसक्दा पनि न सचिव नियुक्ति गर्ने पहल भएको छ, न पशुपन्छी सेवा तर्फका सचिवबाट नै भने जस्तो काम गर्न सकेका छैनन् । मन्त्री सचिवालयमा रहेको व्यक्तिहरू पनि आफ्नो स्वार्थसिद्ध गर्नका लागि मरिहत्ते गर्नेहरू परेका कारण उनलाई मन्त्रालय हाँक्न निकै नै सकस परेको भान हुन्छ ।

कृषि बुझेका व्यक्ति उनले सचिवालयमा राख्न सकेका छैनन् । विगतमा कृषिमा गन्हाएका व्यक्तिहरू नै सेरोफेरोमा बोकेर हिँडिरहेको आरोप छ । जसले गर्दा मन्त्री भुसाललाई मन्त्री पद निल्नु न ओकल्नु जस्तो भएको चर्चा सुनिन्छ। अब केही समयपछि रासायनिक मलको अभाव खड्कने दिन आउँदैछ, त्यसपछि झन् मन्त्री भुसाललाई पद नै छाडेर जाऊँजस्तो हुन बेर छैन । आजको साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्