कोरोनाकाे सम्भावित जाेखिम राेक्न यसपाली हाेली नमनाउन आग्रह

काठमाडौँ, २० फागुन । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी सरकारले यस वर्ष होली पर्व नमनाउन आग्रह गरेको छ। सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो । उहाँले यस वर्षको होली उत्सव नमनाउन र ठूला जमघट नगर्न आग्रह गर्नुभयो ।

कोरोनाको सम्भावित संक्रमण रोकथामका लागि सरकार गम्भीर बनेको भन्दै उहाँले नागरिकहरुलाई भरसक भीड हुने कार्यक्रम नगर्न, सहभागी नहुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘भीडभाड हुने गरी कुनै काम नगरौं । सकभर भीड हुने कामबाट टाढै बसौँ । यसपटक होली पनि नमनाऔं ।’ उहाँले विवाह जस्ता उत्सवलाई पनि आफ्नो पारिवारिक विषय मात्रै बनाउन र ठूला भेला, भोजभतेर नगर्न आग्रह गर्नुभयो ।

नेपाल कोरोना भाइरसबाट मुक्त रहेको भन्दै हुन सक्ने सं’क्रमणबाट जोगाउनका लागि सबै सचेत बन्नुपर्ने र जोखिम बढ्न नदिन सरकारले पनि विभिन्न कदम चालिरहेको उहाँको भनाइ थियो । उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलकाे नेतृत्वमा मन्त्रीहरु सम्मिलित काेरोना भाइरस रोकथाम समन्वय समिति गठन गरेकाे र मुख्य सचिवको नेतृत्वमा स्टेरिङ कमिटी तथा प्रधामन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीको संयोजकत्वम वर्किङ टिमले यसका लािग काम गरिरहेको जानकारी पनि मन्त्री ज्ञवालीले दिनुभयाे ।

विदेशी पर्यटकलाइ अन-‘अराइभल भिसा स्थगित गरेकाे र कोरोना प्रभावित देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई एनओसी (नो अब्जेक्सन लेटर) जारी गर्न रोक लगाएकाे पनि उहाँले बताउनु भयाे । यस वर्षको होली पर्व फागुन २६ र २७ गते परेको छ । मिथिलाञ्चल क्षेत्रमा साेमबारबाटै होली उत्सव सुरु भइसकेको छ । काठमाडाैँमा पनि होली पर्वकाे विधिवत् सुरूवात मंगलबारबाट भइसकेको छ ।

हाेली सुरू भएकाे संकेतस्वरूप वसन्तपुरमा आज बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको छ । जुन चीर ठड्याएपछि नै काठमाडौं उपत्यकासहित देशैभरि होली पर्व सुरु भएको मानिन्छ। भीडभाड र उत्सवमा तीव्र रूपमा फैलिने भएकाले काेराेना भाइरस विश्वभरि नै खतरनाक मानिएकाे छ । चीनकाे वुहानबाट फैलिएकाे काेराेना भाइरस अहिलेसम्म चीनसहित विश्वभरि झन्डै ७० देशमा फैलिसकेकाे छ भने ९० हजार भन्दा बढी मानिसमा सङ्क्रमण देखिएकाे छ । यसमध्ये झन्डै ९० प्रतिशत सङ्क्रमण चीनमै पाइएको छ । चीनबाहेक अन्य १० देशमा पनि यही भाइरसका कारण मानिसहरूको मृत्यु भएकाे छ, विश्वभरि कुल मृतक संख्या ३ हजार नाघेकाे छ ।

प्रतिक्रिया दिनुहोस्