प्रधानमन्त्री ओलीले डाक्टरहरूलाई भने- चिन्ता नलिनुस्, म एक हप्तामा क्याबिनेट राख्छु

काठमाडौं, फागुन २० : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजे हुने भएको छ। त्रिवि शिक्षण अस्पतालको मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टिमले उनको मिर्गौ लाको प्रत्यारोपण गर्नेछन्। ‘प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोण भोलि ९ बजे हुने भएको छ’, प्राध्यापक डाक्टर अरूण सायमीले भने, ‘केहीबेर अघि उहाँको डायलासिस गरिएको छ।’

उनका अनुसार प्रत्यारोपण अघि गरिने सबै चेकजाँच गरिएको र सबै रिपोर्ट सामान्य रहेको छ। सायमीले प्रधानमन्त्रीको आत्मविश्वास निकै बलियो भएको बताए। ‘हामीलाई बरू केही हुन्छ भन्ने लाग्छ। उहाँत चिन्ता नलिनुस्। मलाई केही हुँदैन एक हप्तामा क्याबिनेट बैठक राख्छु भन्नुहुन्छ,’ सायमीले भने। मिर्गौला प्रत्यारोपण भएका बिरामी सामान्य अवस्थामा फर्किन झन्डै दुई हप्ता लाग्ने चिकित्सकहरू बताउँछन्।

नियमति कामकाजमा फर्किन झन्डै डेढदेखि दुई महिना लाग्ने उनीहरूको भनाइ छ। तर ती कुरा बिरामी अनुसार फरक हुने पनि उनी बताउँछन्। दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि उनी सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। उनलाई भान्जी नाता पर्ने एक महिलाले मिर्गौला दिन लागेकी हुन्।

प्रतिक्रिया दिनुहोस्