नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न माग

काठमाण्डौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहाको तस्वीर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गर्नुभएको छ । पृथ्वी जयन्तीका अवसरमा अध्यक्ष थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउँदै शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न माग गर्नुभएको हो । विगतमा शाहको बारेमा भ्रम र नराकात्मक सोचहरु रहेता पनि अहिले सबै राजनीतिक दल र नेताहरु सकारात्मक रुपमा लिएकोमा खुसी व्यक्त गर्नुभयाे ।

थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, २७ गते सार्वजनिक दिवसका रुपमा मनाएर बिदा दिन र उहाँको तस्वीर नेपाली नोटमा अंकित गर्न सत्तारुढ दल, सरकार र प्रधान मन्त्रीलाई आग्रह गर्नु भएको हो । थापाले देशमा देखा परेको सबै प्रकारका चुनौतीको सामना गरेर शान्ति र स्थायित्व कायम गरी सबल र समुन्नत नेपाल निर्मामा सबै राजनीतिक दलहरु एकता र सहमतिमा आउनुपर्ने उहाँले बताउनु भयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय एकताको सन्दर्भमा शाहले ठोस आधार तयार गर्नुभएको कुरालाई सम्मानका साथ सम्झिनुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय एकताको जगमा उभिएर देशका सबै जाति भाषा, धर्म र संस्कृतिलाई जनतालाई एकताबद्ध बनाउँदै निरन्तर अगाडि बढ्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएर एकता दिवस सरकारी स्तरबाट भव्यताका साथ मनाउनु पर्ने बताउनु भयो । शाहले बनाएको मुलुकलाई सबैले संरक्षण गरी राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्ने उहाँको धारणा थियो ।आइतबार पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभरी नै विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्