सर्वत्र कोरोना त्रास : भारतले औषधि निर्यात सीमित गर्‍याे, सकिन थाल्यो औषधि

काठमाडौं : कोरोना भाइरस सं’क्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ। नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन् । ‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्‍याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले भने, ‘नभइनहुने औषधिको मौज्दात बढाउन कदम चाल्ने बेला आएको छ।’

उनले निजी क्षेत्रसँग मिलेर सरकारले काम थालिहाल्नुपर्ने बताए। व्यवसायीका अनुसार औषधिको कच्चापदार्थ आयात झन्डै एक महिनादेखि ठप्प छ। कोरोना भाइरसको कारण केही औषधिको निर्यात सीमित गर्ने भारतको फैसलापछि विश्वभरि ती औषधिको कमी हुने आशङ्का गरिएको छ । भारत विश्वमा सामान्य औषधिको आपूर्ति गर्ने सबैभन्दा ठूलो देश हो । भारतले २६ वस्तु र ती वस्तुबाट बन्ने औषधिको निर्यात सीमित गरेको छ ।

भारतले निर्यात सीमित गरेको औषधिमा पारा सिटामोल पनि हो । दुखाइ कम गर्ने यो औषधि विश्वमा धेरै मात्रामा प्रयोग हुँदै आइरहेको छ । औषधि बनाउन चाहिने सामग्रीको उत्पादन चीनमा ठूलो मात्रा हुने गर्द छ । तर अहिले कोरोनाका कारण चीनमा उत्पादन बन्द छ या निर्यातमा कटौति गरिएको छ । भारतका औषधि बनाउने कम्पनीहरु आफ्नो उत्पादनको लागि चिनियाँ सामग्रीमा ७० प्रतिशतसम्म निर्भर रहेका छन् ।

यदि कोरोना भाइरसको महामारी चलिरह्यो भने औषधि बनाउने कम्पनीहरुले सामग्री कमी हुने स्थितिको सामना गर्न अवस्था आउन सक्ने विश्लेषक हरुले चेतावनी दिएका छन् । चाइना मार्केट रिसर्च ग्रुपका विश्लेषक शाउन रीन भन्छन्, ‘चीनमा नबन्ने औषधि बना उन चाहिने सामग्री पनि चीनबाट नै आपूर्ति हुन्छ । यदि भारत र चीन कोरोनाको चपेटामा आए भने विश्वभरि नै औषधिको अभाव हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्