सेनाको अनियमितता प्रकरण : रक्षामन्त्री र प्रधानसेनापति नगएपछि बैठक स्थगित

काठमाडौं : राज्य व्यवस्था समितिले बोलाएको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा नगएपछि स्थगित भएको छ। नेपाली सेना भित्रको अनियमितता बारे छलफल गर्न बिहीबारको बैठकमा उनीहरुलाई बोलाइएको थियो । बैठकमा रक्षा मन्त्रालयको तर्फबाट सचिव रेश्मीराज पाण्डे र सेनाका रथी सरद गिरीको नेतृत्वमा सहभागी भएका थिए ।

तर राज्य व्यवस्था समितिको बैठकमा तालुकदार मन्त्री पोखरेल र प्रधानसेनापति थापालाई बोलाएपनि नआएपछि बैठक स्थगित गरिएको सभापति शशी श्रेष्ठले जानकारी दिइन सम्बन्धित व्यक्तिविना छलफलको औचित्य नहुने भन्दै बैठक स्थगित गर्न सांसदले माग गरे पछि बैठक स्थगित गरिएको हो । जंगी अड्डा मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरीपछि समितिले चासो देखाएको छ।

राज्य व्यवस्था समितिले सेनाको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयारपार्न तीन सदस्यीय उजुरी सुनुवाई कार्यदल गरेको थियो। कार्यदलले आठ महिनाभन्दा बढी समय लगाएर गुनासो तथा उजुरी छानबिन गरेको हो। सत्तारुढ नेकपाका सांसदद्वय रेखा शर्मा, नव राज सिलवाल तथा प्रमुख विपक्षी दलका सांसद दिलेन्द्रप्रसाद बडू सदस्य रहेको कार्यदलले ५० वटा उजुरी छानबिन गरी बुधबार समितिलाई प्रतिवेदन बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्